काठमाडौँ, कार्तिक ७ — कास्कीका सूर्यदर्शन बचत तथा ऋण सहकारीका पीडितहरूले रास्वपाको दबाबमा पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धान र अदालत समेत प्रभावित नहोस् भन्ने माग गरेका छन् ।
अहिले रास्वपाले सभापति लामिछाने बचाउमा शान्तिसुरक्षा र घरघरमा पुगी पीडित बचतकर्तालाई भड्काउने काम गरेको भन्दै आपत्ति जनाएका छन् ।'पार्टीका नेता र कार्यकर्ताहरुले पोखराको शान्त वातावरण नै बिथोल्ने गरि पीडित बचतकर्ताविरुद्ध गरेको कार्यक्रम, नाराबाजी, भाषणका साथै टोल टोल र घर घरमा पुगीपीडीत बचतकर्तालाई भड्काउने गरेको कामप्रति हामी घोर आपत्ति प्रकट गर्दछौं' विज्ञप्तिमा छ ।
सहकारी ठगी प्रकरणमा जोडिएको जोसुकै भएपनि निष्पक्ष छानबिन हुनुपर्ने र सहकारीपीडित बचतकर्तालाई न्याय दिनुपर्ने समय मा रास्वपा त्यसविरुद्ध लागेको उनीहरूको भनाइ छ । ' सहकारीको बचत र अनुसन्धान लाई नै प्रभाव पार्ने किसिमको कार्यक्रम दिनहुँ जसो पोखरामा भईराखेका छन्, पार्टीका कार्यकर्ताद्वारा पीडित लखेटिएका छन् पिटिएका छन्' विज्ञप्तिमा छ ।
रास्वपा सरकारमा हुँदा या नहुँदा पार्टीका नेताहरुलाई हार गुहार गर्दा, कैयन पटक ज्ञापन पत्र बुझाउँदा पीडीतको समस्या समाधानका निम्ति कहिल्यै कुनै सर सहयोग नभएको उनीहरूले उल्लेख गरेका छन् ।