गोरखा — गोरखा नगरपालिका–५ मा हुने वडाध्यक्ष पदको निर्वाचनका लागि १० जनाले उम्मेदवारी दिएका छन् । आइतबार गोरखा–५ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् ।
एमालेबाट दुर्गामाया थापा राना, कांग्रेसबाट भाइकाजी आले, माओवादी केन्द्रबाट विष्णुबहादुर राना मगर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मंगलबहादुर थापाको उम्मेदवारी परेको छ । त्यस्तै मंगल नेशनल अर्गनाइजेशनबाट भवानी थापा मगर, नेशनल रिपब्लिक नेपालकी सविना तामाङ, राप्रपाकी कल्पना राना, राप्रपा नेपालका रुपसिंह राना, नेकपा (एस) का खड्गबहादुर भुजेल र नेपाल समाजवादी पार्टीका रुपेश मग्रातीले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
२०७९ सालमा निर्वाचित वडाध्यक्ष खिलबहादुर रानाको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि गोरखा–५ मा दुई हजार २ सय २५ मतदाता कायम भएका छन् । गोरखकाली आधारभूत विद्यालय स्वाँरा र शिवशक्ति आधारभूत विद्यालय अमराई गरी दुई वटा मतदान स्थल रहेका छन् । गोरखकाली आधारभूत विद्यालयमा ३ सय ५४ पुरुष र ३ सय ७० महिला गरी ७ सय २४ मतदाता रहेका छन् । शिवशक्ति आधारभूत विद्यालय, अमराईमा ७ सय ३२ पुरुष र ७ सय ६९ महिलासहित १ हजार ५ सय १ जना मतदाता रहेका छन् ।
२०७९ सालको भएको स्थानीय तह निर्वाचनमा उक्त वडामा २ हजार १ सय ६५ मतदाता रहेको थियो । उपनिर्वाचनका लागि जिल्ला न्यायाधीश शिवबहादुर रानाभाटलाई निर्वाचन अधिकृत तोकिएको छ ।