गोरखा — १० औं उद्योग दिवसको अवसरमा चार जना उद्यमी सम्मानित भएका छन् । आइतबार चार उद्यमीलाई पर्यटन तथा उद्योग कार्यालय गोरखाले सम्मान गरेको हो ।
गोरखा नगरपालिका–६ पहिरन लेडिज टेलर्स तथा प्रशिक्षण केन्द्र संचालक रोजिना श्रेष्ठ, सिताराम झोला कारखानाका सिताराम नेपाली, आकृति मेडल उद्योगका ताराबहादुर बानियाँ र अजिरकोट गाउँपालिका–३ माकसुम ठेकी तथा मादलको घार उद्योग संचालक दिपक विकलाई सम्मान गरिएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख अमर नेपालीले बताए ।
जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापाले उनीहरुलाई प्रमाणपत्रका साथ दोसल्ला ओडाएर सम्मान गरेका हुन् । विभिन्न विधातर्फका सफल व्यवसायी छनौट गरी सम्मान गरिएको नेपालीले बताए । कार्यालयका अनुसार जिल्लामा हालसम्म सात हजार दुई सय ८४ उद्योग दर्ता भएका छन् ।
चालु आर्थिक वर्षमात्र ४७ नयाँ उद्योग दर्ता भएको नेपालीले जानकारी दिए । वाणिज्यतर्फ पाँच हजार नौ सय ७६ उद्योग दर्ता भएको छ । चालु आर्थिक वर्ष वाणिज्यतर्फ ४० वटा नयाँ दर्ता भएको छ । चालु आर्थिक वर्षको चार महिनाको अवधिमा उद्योगतर्फ ११ लाख ३४ हजार ६ सय ५० रुपैयाँ र वाणिज्यतर्फ ८ लाख ९६ हजार ९ सय ५० रुपैयाँ राजस्व संकल नभएको उनले बताए । उद्योग तथा वाणिज्य दर्ता र नवीकरणबापत राजस्व संकलन भएको हो ।