तनहुँ —पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका-४ र ५ जोड्ने मादी नदी माथिको पुल निर्माणको कामले तीव्रता पाएको छ ।
आयोजनाका अनुसार मादी पुलको भौतिक प्रगति ४५ प्रतिशत छ । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)का इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार पुलको ७ वटै जगको काम सम्पन्न भएको छ । उनले भने, ‘दुई सय वटा पाइल र ७ वटा पिल्लरमध्ये ५ वटा पिल्लर निर्माणको काम सम्पन्न भएको छ ।
सुपर स्ट्रक्चरको काम पनि भइरहेको छ ।’ उनले पुलको काम समयमै सक्नेगरी अघि बढेको बताए । उनले भने, ‘सडक कालोपत्रेको कामलाई पनि तीव्रता दिएका छौं । करिव ४ किलोमिटरमा अन्तिम कालोपत्र सुरु गरिसकेका छौं ।’ पाण्डेका अनुसार पूर्वी खण्डअन्तर्गत १४ वटा साना पुल निर्माण सकिएका छन् । दुई ठूला पुल निर्माणको काम पनि अन्तिम चरणमा छन् ।
यस्तै, १०३ वटा कल्भर्ट निर्माणको काम सम्पन्न भएको छ । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ बैशाख २ गतेदेखि काम सुरु भएको थियो । यस खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । सडकतर्फ ६८ प्रतिशत भौतिक प्रगति छ ।