गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं. ३ फिलिमबाट एक सुस्तमनस्थिति भएकी महिलाको उद्धार गरिएको छ ।
आफ्नो नामसमेत भन्न नसक्ने उक्त महिलाको मंसिर ३ गते फिलिमबाट उद्धार गरी काठमाडौं रानीवनस्थित मानवसेवा आश्रममा लगिएको वडा नं. १ का वडाध्यक्ष कर्मा छेवाङ लामाले बताए ।
उनले विगत करिब ८ वर्षदेखि चुमनुब्री गाउँपालिकाको विभिन्न ठाउँहरुमा वेवारिशे अवस्थामा बसोबास गर्दै आएकी थिइन् । ‘गाउँपालिका भित्र देखिन थालेको झण्डै ७,८ वर्ष जति नै भयो, घरी सामागाउँ तिर, घरी छेकम्पारतिर गरेर डुली हिड्थिइन्,’ उनले भने, ‘दुई वर्ष जति भयो फिलिम आसपास भौतारिदै बसोबास गरेर बस्न थालेको ।’ सुस्तमनस्थितिको भएकीले नाम ठेगाना सोध्दा पनि अनेकौं भन्ने गरेको वडाध्यक्ष लामाले बताए ।
चिसो ठाउँ भनेर लगाउनलाई लत्ता कपडा दिएता पनि फालेर हिड्ने गरेको उनले जानकारी दिए । उनी धेरै वर्ष सामागाउँ छेकम्पार आसपासमै रहिन् ।
उनी चुरोट सेवान गर्थिन् । चुरोट सेवान गर्ने भएकाले जथाभावी खाएर ठुट्टा फालेर आगलागि हुने होकी भन्ने डरले तल पठाई दिएको उनले बताए । ‘उनलाई गाउँलेहरुले चिसो हुन्छ भनेर लुगा लगाउ भनेर दिए पनि भोली पल्ट नै फालेर हिड्थिइन्, त्यहीँ माथी चुरोट पनि खान्थिइन्,’ उनले भने, ‘माथी तिर चोसो भएर सुख्खा हुन्छ उनले चुरोट खाएर ठुट्टा जताभावी फाली दिने होकी, त्यसबाट आगलागी पनि हुन सक्छ भनेर तल फिलिम तिर पठाई दिएको रहिछ ।’
वडाध्यक्ष लामाले आफै पहल गरेर उनलाई उद्धार गरेर आश्रम पु¥याएका हुन् । ‘मैले लामो समयदेखि उनलाई उद्धार गर्ने सोचिरहेको थिए, कहिले के नमिल्ने कहिले के, अहिले सबै कुरा गरेर पुलिस रिपोर्ट बनाएर उनलाई यहाँ ल्याएको हो’ उनले भने ।
लामाले ती महिलासहितको फोटो सामाजिक सञ्जालमा पहिचानको लागी पोष्ट गरेका छन् । केही कसैले चिनेको भए सम्पर्कमा आउन पनि उनले आग्रह गरेका छन् ।