Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गोरखा नगरपालिका–५ मा मतदाता रिझाउन उम्मेदवारहरु घर–दैलोमा व्यस्त

गोरखा नगरपालिका–५ मा मतदाता रिझाउन उम्मेदवारहरु घर–दैलोमा व्यस्त

images

इच्छाकामना न्युज

१३, मंसिर २०८१
गोरखा नगरपालिका–५ मा मतदाता रिझाउन उम्मेदवारहरु घर–दैलोमा व्यस्त
images

गोरखा, १३ मंसिर । गोरखा नगरपालिका–५ मा मंसिर १६ गते हुने उपनिर्वाचनका उम्मेदवारहरू मतदाता रिझाउन घर–दैलोमा व्यस्त बनेका छन् ।

गोरखा–५ को वडाध्यक्ष पदका लागि ९ जना प्रतिस्पर्धामा उत्निएका छन् । निर्वाचन नजिकएसँगै बुधबार बिहानैदेखि उम्मेदवारहरू मतदाताको घर, काम गरिरहेका खेतबारीमा पुगेर मत माग्न व्यस्त थिए ।

आफ्ना पार्टीका उम्मेदवारलाई मत माग्न केन्द्रीय तहका नेता पनि गोरखा आएका छन् । नेपाल समाजवादी पार्टीका नेता बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता स्वर्णिम वाग्लेलगायत केन्द्रीय नेता आफ्नो पार्टीका उम्मेदवारलाई भोट माग्न घरदैलो गरिसकेका छन् । मंसिर ५ मा गोरखा आएका पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि पार्टीका ऊम्मेदवार र स्थानीयसँग अन्तर्त्रिया गरेका थिए ।

गण्डकी प्रदेशभरिको एउटा वडामा मात्र हुन लागेको निर्वाचन भएकाले पनि गोरखा–५ को निर्वाचनलाई महत्त्वका साथ हेरिएको छ । उम्मेदवारहरू ठूला सभा/समारोहभन्दा पनि स्थानीय मुद्दालाई प्राथमिकतामा राखेर घरदैलो गरिरहेका छन् । ‘९ जना उम्मेदवार छन्, एकथरी आएर जान नपाउँदै, अर्को थरी आइसक्छन्, बिहानभरि उनीहरूकै कुरा सुनेर बित्यो,’ गोरखा–५ पस्लाङका रामबहादुर थापाले भने, ‘हामीले उहाँहरूको कुरा मात्र सुनेका छैनौं, आफ्ना कुरा पनि राखेका छौं, मोटरबाटो, खानेपानी, मन्दिर मर्मत लगायत विकासका योजनाका बारेमा उहाँहरूलाई सुनाएका छौं ।’ बाह्रै महिना एम्बुलेन्ससम्म चल्न सक्ने सडकको मुद्दा स्थानीयको प्राथमिकतामा छ ।

एक घर एक धारासँगै एम्बुलेन्ससम्म चल्न सक्ने बाटो बनाइदिनुपर्ने विषय उम्मेदवारसँग राखेको रिपका कृष्णबहादुर थापाले बताए । उम्मेदवारहरूको ओहोरदोहोरले गोरखा–५ मा निर्वाचनको माहौल निकै बढेको स्थानीयवासी बताउँछन् । २०७९ सालमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष खिलबहादुर रानाको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा नेकपा एमालेले रानाकी श्रीमती दुर्गामाया थापा रानालाई उम्मेदवार बनाएको छ ।

उम्मेदवार पनि स्थानीय विकास निर्माणका विषयलाई प्राथमिकतामा दिएर मत माग्न व्यस्त छन् । नेकपा एमालेकी उम्मेदवार थापा राना बुधबार माथिल्लो स्वाँरामा स्थानीय मुद्दा मतदातालाई सुनाउँदै घरदैलोमा थिइन् । वडाको भूबनोट, प्राकृतिक स्रोतसाधन र सामाजिक सांस्कृतिक विविधतलाई ध्यानमा राखी कृषि क्षेत्रका तरकारी, फलफूल एवं पशुपालन र पर्यटन प्रवर्द्धनका क्षेत्रमा धार्मिक सांस्कृतिक पक्षका साथै भौतिक पूर्वाधार सडक, खानेपानी, भवन लगायत यावत् पक्षमा थालनी भएका कामलाई निरन्तरता दिने र अधुरा कार्य पूरा गर्दै जाने उनले मतदातामाझ बताइन् । नयाँ सम्भावनाको खोजी गर्ने, एकल महिला, अपाङ्गता भएका, असहायका लागि सामाजिक सुरक्षा कार्यक्रम सहित सीपमूलक तालिमका माध्यमबाट रोजगारी सिर्जना गर्ने पनि उनले चुनावी अपिलमा समेटेकी छिन् ।

नेपाली कांग्रेसबाट उम्मेदवार बनेका भाइकाजी आले मगरले ‘स्वाथ्य बिमा वडाको जिम्मा’ कार्यक्रम संचालन गर्ने, एक घर एक धारा, टोल/टोलमा खेलकुद पूर्वाधार निर्माण, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनजस्ता विषय समेटेर प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । १५ बुँदे प्रतिबद्धता पत्रमा शाखा सडकको स्तरोउन्नति, कृषि पकेट क्षेत्र पहिचान गरी ‘एक घर एक लघु बगैंचा’ निर्माण गर्ने, होम स्टेलाई थप व्यवस्थित बनाउने जस्ता विषय समेटेका छन् ।

images
प्रकाशित मिति :मंसिर १३, २०८१ बिहिवार - १३:२५:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology