Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

निर्माण सम्पन्न भएपनि किन एनपिआई गोरखा अस्पताल सञ्चालनमा आउन सकेन ?

निर्माण सम्पन्न भएपनि किन एनपिआई गोरखा अस्पताल सञ्चालनमा आउन सकेन ?

images

इच्छाकामना न्युज

१४, मंसिर २०८१
निर्माण सम्पन्न भएपनि किन एनपिआई गोरखा अस्पताल सञ्चालनमा आउन सकेन ?
images

मेलिना बराम

गोरखा । गोरखा सदरमुकाममा निर्माण सम्पन्न भएको नारायणी सामुदायिक अस्पताल (एनपिआइ) गोरखा प्रालि गतबर्षको माघ महिनामा उद्घाटन गर्ने तयारी थियो । म्याद सरेर बैशाखदेखि सञ्चालन गर्ने भनियो । फेरि उद्घाटनको मिति जेठसम्मलाई सारियो ।
निर्माण सम्पन्न भएर पनि किन सञ्चालनमा आएन एनपिआई गोरखा अस्पताल भन्ने जिज्ञासा बजारमा छ । सञ्चालक भन्छन्, ‘उपकरण खरिदमा ढिलाइका कारण उद्घाटन रोकिएको हो ।’

अस्पतालमा आवश्यक पर्ने उपकरण खरिदमा ढिलाईका कारण उद्घाटन रोकिएको अस्पताल सञ्चालन समिति सदस्य शरदबाबु कट्टेलले बताए । अस्पतालमा आवश्यक पर्ने उपकरणहरु जर्मनीबाट ल्याउने भनिएको छ । ‘यहाँ चाहिने भित्री सामान मेसिन इकुप्मेन्ट सबै जर्मनीदेखि ल्याउने तयारी छ,’ उनले भने, ‘हामीले उपकरण खरिदको कुरालाई यहीँ बजारमा गएर सामान किनेको जस्तो सोच्यौँ तर, त्यहाँ हामीले यताबाट अर्डर गरेपछि बल्ल उता बनाउने अनि पठाउने रहेछ ।’

प्रालिले नै उपकरण खरिद प्रक्रिया ढिला गरी सुरु गरेको उनले जानकारी दिए । सामग्री बहिर देशबाट ल्याउने भएपछि नेपाल भित्र्याउन भन्सारबाट ल्याउनु पर्ने भएकाले पनि झन्झटिलो भएको उनको भनाई छ । ‘हामीले दिने सेवामा कम्प्रमाइज नहोस्, उपकरण पनि दिगो रहोस् भनेर सबै सामग्री बहिरबाटै ल्याउन लागेका हौँ,’ उनी भन्छन्, ‘भने जस्तो गर्न कहाँ सजिलो हुने रहिछ र ?, यताबाट वर्डर गरेको १५/२० दिनमा मात्र सामान आउँछ । त्यहीँमाथि भन्सारको झन्झट, सबै समान एकै चोटी ल्याउन पनि नसकिने, आवश्यक सबै उपकरण आइपुग्न अझै केही समय लाग्न सक्छ ।’

बिरामीले चितवनमा पाउने सेवा सुविधि गोरखामा नै उपलब्ध गराउने उद्देश्यका साथ अस्पताल सञ्चालन गर्न लागिएको हो । ‘माइनर अप्रेशन गर्न पनि चितवन नै रेफर गरिदिने, गोरखाका धेरै जसो बिमारी सेवा लिन चितवन जाने, हाम्रो ठाउँको जनतालाई चितवनमा दिने सेवा गोरखामा नै दिउँ भनेर हस्पिटल सञ्चालन गर्न लागेका हौं’ उनले भने । अस्पताल सञ्चालनमा आए गोरखाको बिरामी रेफर भएर बाहिर जाने बाध्यता हट्ने आशा रहेको उनले तर्क व्यक्त गरे ।

स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने जनशक्ति गोरखामै उत्पादन गर्ने उद्देश्यले पनि अस्पताल सञ्चालन गर्न लागिएको कट्टेलले बताए । ‘गोरखामा मेडिकल सेक्टरमा पढाइ हुने कुनै पनि कलेज छैन,’ उनले भने, ‘हामीले गोरखामै आवश्यक जनशक्ति उत्पादन गर्न सकिन्छ कि, डक्टर उत्पादन गर्न नसके पनि नर्सिङ सम्म पढाउनका लागि भनेर पनि हस्पिटल सञ्चालन गर्ने कन्सेप्ट ल्याएको हो ।’ अस्पतालका कर्मचारीहरुलाई तालिमहरु पनि दिई रहेको उनले बताए । ‘हामीले अस्पताल सञ्चालनमा ल्याउन अघि सबै तयारी पूरा गरेर मात्र ल्याउने बिचार गरेका छौं,’ उनी भन्छन्, ‘काम गरिरहेको कर्मचारी भएनि के भयो थप सिप सिक्छन्, त्यही भएर छनोट भई सकेका कर्मचारीहरुलाई हामीmे अहिले ट्रेनिङमा पठाएका छौं ।’

पछिल्लो समय गोरखा बजारको चहलपहल कम हुन थालेको छ । व्यापार व्यवसायमा पनि निराशजनक अवस्था देखिन्छ । बजारको आर्थिक आम्दानीमा पनि टेवा पु¥याउने लक्ष्यले अस्पताल सञ्चालन गर्न लागिएको उनले बताए । ‘गोरखाका बजार पनि सुनसान देखिन थाल्यो, यहाँको आम्दानीमा टेवा पुगोस् भनेर पनि हस्पिटल सञ्चालन गर्न लागेका हौँ,’ उनले भने । अस्पताल सञ्चालन गर्नका लागि सरकारबाट प्रदान गरिने स्वीकृति पत्र पनि अहिलेसम्म पनि प्राप्त नगरेको उनले जानकारी दिए ।

‘अस्पताल सञ्चालन गर्नका लागि सरकारबाट स्वीकृति पत्र चाहिन्छ, यसको लागी कागजी प्रकिया पनि लामो हुने रहिछ,’ उनले भने, ‘हामीलाई पहिला यसबारे जानकारी भएन, स्वीकृतिको लागि पनि हामीले ढिला गरी प्रक्रिया थाल्यौँ, अहिले पनि सो प्रक्रिया चलिरहेको छ ।’ ५० करोड लगानीमा निमार्ण गरिएको अस्पतालमा एक सय शैया बेड क्षमता रहने बताएको छ । अस्पताल निमार्णका लगानीकर्ता गोरखा–चितवनका रहेका छन् । जसमा ३५ जना गोरखाका छन् भने, ६५ जना चितवनका रहेका छन् ।

images
प्रकाशित मिति :मंसिर १४, २०८१ शुक्रवार - १०:५५:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology