दमौली, माघ १ गते । तनहुँमामा बसोबास गर्ने मगर समुदायले माघे सङ्क्रान्ति पर्व मङ्गलबार नवौ तनहुँ महोत्सव स्थल भित्र उल्लासपूर्वक मनाएका छन् ।
महोत्सवको आयोजक तनहुँ उद्योग वाणज्य सङ्घ सङ्क्रान्ति मनाउनको लागि स्थल उपलब्ध गराएको थियो । जिल्लामा बाहुलता रहेको मगर समुदायले माघे सङ्क्रान्तिलाई सबैभन्दा ठूलो पर्वका रूपमा मनाउने गर्दछन् । सास्कृतिक पोशाखमा सजिएका मगर समुदायले महोत्सव स्थलमा प्रवेश गर्नु अघि सदरमुकाम दमौलीमा मगर समुदायको लोकप्रिय कौरा, झ्याउरे लगातको गीत तथा नृत्य प्रस्तुत दमौली बजार परिक्रममा गरेका थिए ।
कार्यक्रमको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा नगर प्रमुख न्यौपाने व्यास नगरपालिका–१४ को रुम्सी गाउँलाई मगर समुदायको अध्ययन स्थलको रुपमा विकास गरिरहेको बताउनुभयो । त्यहाँ सञ्चालनमा रहेको होम स्टे लगायतको प्रवद्धनको लागि एक करोड रुपियाँ रकम निकासा गरिएको बताउनुभयो । साथै व्यास नगरपालिका–१२ नेपालका प्रथम सहिद लखन थापाको प्रतिमा स्थल तथा मगर सङ्ग्राहालय बनाउन अध्यन भईरहेको बताउनुभयो ।
मगर भाषाको संरक्षणको लागि भाषा पाठशालाको लागि दुई लाख रुपियाँ बजेटको व्यवस्था गरिएको बताउनुभयो । साथै नगर प्रमुख न्यौपानेले फागुन ७ गते व्यास नगर प्रज्ञा प्रतिष्ठानको अयोजनामा दमौलीमा सास्कृतिक महोत्सव गरिने जानकारी दिनुभयो । कार्यक्रममा पूर्वमन्त्री शिवलाल थापा, व्यास नगरपालिकाको उपप्रमुख इन्दिरा दरै, व्यास नगरपालिकाको पूर्व प्रमुख ताराप्रसाद श्रेष्ठ, नेपाल महिला मगर सङ्घको केन्द्रीय सदस्य काशी राना लगायतका यस्ता सास्कृति कार्यक्रमले भावी पुस्तालाई ज्ञान लिन सहज हुने हुँदा निरन्तरता दिनु पर्नेमा जोड दिनु भएको थियो ।
माघे सङ्क्रान्तिलाई बर्खा सुरु भएको दिनका रूपमा मगर समुदायले धुमधामका साथ मनाउने चलन रहेको नेपाल मगर संघ व्यास नगर समितिको अध्यक्ष रिमा आलेले जानकरी दिनुभयो । महोत्सवमा नेपाल मगर सङ्घ व्यास नगर समितिले मगर माघे सकराटी मेला, विविध सास्कृति कार्यक्रम गरिएको थियो । महोत्सवको स्थान उपलब्ध गराएकोमा तनहुँ उद्योग वाणिज्य सङ्घलाई सम्मानपत्र प्रदान गरिएको थियो । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले र तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक वैकुण्ठनाथ मिश्रलाई सम्मानपत्र प्रदान गर्नु भएको थियो ।
माघे सङ्क्रान्तिमा आफन्त र चेलीबेटीलाई बोलाएर मिठामिठा परिकार खुवाउने चलन छ । प्रकृतिका पुजारी मगर समुदायले साउने सङ्क्रान्तिलाई हिउँद र माघलाई बर्खा सुरु भएको दिनका रूपमा मान्ने गरेको बताइन्छ ।