लमजुङ । नेकपा एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को काम पानी धमिल्याउने अनि माछा मार्नेमात्रै रहेको टिप्पणी गरेका छन् । दाहालले कहिले कांग्रेसलाई, कहिले एमालेलाई ‘युज एण्ड थ्रो’ गरेर सत्ता सञ्चालन गरेको पनि उनले आरोप लगाए ।
नेकपा एमाले लमजुङले मंगलबारदेखि बेंसीसहरमा आयोजना गरेको ३ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञवालीले स्थिरताका लागि सुरुमा दाहाललाई प्रधानमन्त्री बनाए पनि उनी इमान्दार नभएको बताए ।
‘स्थिरताका लागि हामीले प्रधानमन्त्री बनाएकै हो । तर, उहाँ इमान्दार भएनन् । सच्याउन सकिन्छ कि भनेर फेरि प्रधानमन्त्री बनायौं । मसँग जादूको नम्बर छ, ३२ सिट छ भन्दै कहिले कांग्रेसलाई, कहिले एमालेलाई युज एण्ड थ्रो गर्दै गर्ने सत्ता सञ्चालन गरिरहे ।’
उनले दाहालले सधैं अस्थिरता चाहिरहेको आरोप लगाए । ‘उनले जुन खालको अस्थिर राजनीति, अवसरवादी राजनीति गरे, त्यसले देशलाई अप्ठ्यारोमा पार्यो । त्यसपछि हामी कांग्रेससंग बस्यौं,’ उनले भने, ‘हुन त कांग्रेस र एमाले प्रमुख प्रतिस्पर्धी हौं । तर, देश अप्ठ्यारोमा परेकाले हामी मिल्यौं ।’
दाहाल एकछिन पनि सत्ताबाहिर बस्न नसकेका उनमा छटपटी भइरहेको उपमहासचिव ज्ञवालीले बताए । ‘आफू सत्तामा भए सबै ठिक, सत्तामा नभएपछि लोकतन्त्र धरापमा, गणतन्त्र धरापमा भनेर कुर्लने । सत्ताबाहिर भएपछि कहिले मोर्चा बनाउने, कहिले राजावादीलाई भेट्ने, कहिले रविलाई किन कारबाही गरेको भन्ने ? कहिले देश बंगलादेश हुन लाग्यो भन्ने,’ उनले भने, ‘धमिलो पानीमा माछा मार्न बानी परेकालाई अहिले कांग्रेस–एमाले मिलेको मन परेन ।’