भरतपुर । चितवन उद्योग वाणिज्य संघले आन्तरिक राजस्व कार्यालय भरतपुरका नवआगन्तुक प्रमुख कर अधिकृत शरद निरौलालाई स्वागत तथा परिचयात्मक छलफल गरेको छ ।
सोमबार संघको सचिवालयमा आयोजित कार्यक्रममा अध्यक्ष चिरञ्जीवी सुवेदीले प्रमुख कर अधिकृत निरौलालाई स्वागत गर्दै चितवनको कार्यकाल सफलताको शुभकामना व्यक्त गरे । उनले संघका गतिविधिबारे जानकारी गराउँदै निजी क्षेत्र र कर प्रशासनबीचको सम्बन्धलाई सहज, विश्वासिलो र पारदर्शी बनाउनुपर्नेमा जोड दिए । अध्यक्ष सुवेदीले व्यवसायीमा करसम्बन्धी त्रास सिर्जना गर्नेभन्दा पनि कर शिक्षा र सचेतनामार्फत स्वेच्छिक कर सहभागिता बढाउनुपर्ने बताए ।
कार्यक्रममा प्रमुख कर अधिकृत निरौलाले राज्यको नियमअनुसार कर तिर्नु व्यवसायीको दायित्व भएको उल्लेख गर्दै कर कार्यालयले व्यवसायीको आयलाई वैधानिक र प्रमाणित गर्ने भूमिका निर्वाह गर्ने बताए । उनले राज्यले निर्धारण गरेको कर नीति र कानुनको परिधिभित्र रहेर व्यवसाय सञ्चालन गर्न उद्यमी–व्यवसायीलाई आग्रह गरे ।
व्यवसायीलाई कर दाखिला तथा परामर्शमा सहजता प्रदान गर्ने उद्देश्यले चितवन उद्योग वाणिज्य संघले आन्तरिक राजस्व कार्यालय परिसरमा सञ्चालन गरेको ‘हेल्प डेस्क’ को प्रशंसा गर्दै उनले त्यसलाई थप प्रभावकारी र व्यवस्थित बनाउन कार्यालयको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य तथा संघका निवर्तमान अध्यक्ष चुननकुमार श्रेष्ठले स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रणाली आजको आवश्यकता भएको बताए । कर प्रशासन सुधार र व्यवसायीमैत्री वातावरण निर्माणका लागि संघ सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो । श्रेष्ठले आगामी पुस २५ देखि माघ ९ गतेसम्म १६औँ संस्करणको चितवन महोत्सव आयोजना गर्न लागिएको जानकारी गराउँदै प्रमुख कर अधिकृत निरौलालाई महोत्सव सफल बनाउन सहयोग गर्न आग्रह गरे ।
संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा उपाध्यक्षहरू नारायण प्रधान, जनक पौडेल र राजन पियालगायत कार्यसमिति सदस्य तथा विभिन्न वस्तुगत संघका अध्यक्ष र पदाधिकारीहरूको उपस्थिति थियो । संघका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रम कार्यकारी निर्देशक निलबहादुर केसीले सञ्चालन गरेका थिए ।