काठमाण्डौ, ६ फागुन । सरकारले धानबालीमा क्षति पुगेका किसानलाई प्रक्रिया पूरा गरेर राहत रकम वितरण गर्न जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशन दिएको छ । सरकारले निकासा गरेको १ अर्ब राहत रकम हाललाई जिल्ला विपद् व्यवस्थापन समितिबाट यकिन भई आएका जिल्लालाई मापदण्ड बमोजिमको आधार र प्रक्रिया पूरा गरी रकम उपलब्ध गराउन भनेको हो ।
गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव समेतको उपस्थितिमा बसेको बैठकले धानबालीमा क्षति पुगेका किसानलाई मात्र राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो।
देशका विभिन्न भागमा गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म बेमौसमी वर्षाको कारण धानबालीमा क्षति पुग्दा विभिन्न ३१ जिल्लाका किसान प्रभावित भएका थिए। किसानलाई राहत उपलब्ध गराउने सम्बन्धमा गत कात्तिकमा सरकारले धानबालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउनेसम्बन्धी मापदण्ड, २०८७स्वीकृत गरेको थियो।