काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्ले प्रधानमन्त्री राहत कोषमा रु १६ लाख ४० हजार २१८ आर्थिक सहयोग गरेको छ । परिषद्ले गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित संरचनाको पुनर्निर्माण तथा पुनस्स्थापनाका लागि शुक्रबार साँझ काठमाडौँका प्रमुख जिल्ला अधिकारीमार्फत उक्त रकम सहयोग गरेको हो ।
परिषद्का कोषाध्यक्ष किन्चु ल्हामु भुटिया श्रेष्ठले प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रको पुनर्निर्माण, भौतिक संरचनाको पुनस्स्थापना तथा प्रभावित नागरिकलाई राहत पुर्याउने उद्देश्यले परिषद्ले उक्त रकम सहयोग गरेको जानकारी दिनुभयो । पर्यटन क्षेत्रको विकास, प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत सक्रिय रहँदै आएको परिषद्ले विपद्का बेला प्रभावित समुदायलाई सहयोग गर्नु आफ्नो सामाजिक दायित्व भएको जनाएको छ ।
भोटेकोशी क्षेत्रमा आएको बाढीले जनधन तथा भौतिक संरचनामा ठूलो क्षति पुर्याएको अवस्थामा परिषद्ले रसुवामा पुगेर रु २५ लाख बराबरको खाद्यान्न, भाडाकुँडा र लत्ताकपडा वितरण गरेको परिषद्का महासचिव पशुपति कँडेलले जानकारी दिनुभयो । परिषद्ले विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा सरकार, निजी क्षेत्र तथा विभिन्न सङ्घसंस्थाबीच सहकार्य र एकताबद्ध प्रयास आवश्यक रहेको जनाएको छ ।