पवित्रा पराजुली, नवलपुर । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्र्तगत नवलपुरका तीन स्थानीय तहका १६ वटा वडालाई समेटेर तरकारी जोन कार्यक्रम सञ्चालन गरिएको छ । आर्थिक वर्ष २०७६/७७ बाट यो क्षेत्रलाइ तरकारी जोनको रुपमा बिकास गरेपछि निर्वाहमुखी खेती गर्दै आएका किसानहरू व्यावसायिक भएका छन् ।
तरकारी खेतीले नागरिकको जीवन स्तर फेरिँदै गएको छ । हाल नवलपुरका कावासोती र मध्यविन्दु नगरपालिका तथा हुप्सेकोट गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकिकरण अन्तर्गत तरकारी जोन परियोजना चलिरहेको छ । तीन स्थानीय तहका ९९ समुह, ६ सहकारी र ५२ उद्यमी गरेर १ सय ५७ सङ्घ, सस्था तथा समुह तरकारी जोनमा आवद्ध छन् । यसबाट प्रत्यक्ष रूपमा दुई हजार ३ सय ५५ घरधुरी तरकारी जोनमा जोडिएका छन् ।
तरकारी जोनमा जोडिएकाहरूका लागि विशेष गरी काँक्रा र गोलभेडा खेतीलाई प्राथमिकतामा राखिएको छ । कावासोतीको वडा नम्बर ४,९,१०,१२,१५,१६ र १७तथा मध्यविन्दु नगरपालिकाको वडा नम्बर १,२,३,६,९ नम्बर वडाका नागरिक व्यावसायिक तरकारी खेतीमा संलग्न भएका छन् । हुप्सेकोट गाउँपालिकाको वडा नम्बर १,२,३, र ४ वडामा तरकारी जोन कार्यक्रम सञ्चालनमा रहेको छ । परियोजना लागु भएका वडाका किसानले तरकारी खेती गर्न चाहेमा बीऊ, बीजन र उत्पादन सामग्रीमा ५० प्रतिशत अनुदान पाउने गरेका छन् ।
सिँचाइ आयोजनाहरूमा किसानलाई८५ प्रतिशतसम्म अनुदान दिने गरिएको छ । उत्पादन भएका तरकारी बिक्रिको लागि बजार खोजिदिन पनि परियोजनाले सहयोग गरेपछि किसानहरू व्यावसायिक कृषिमा आकर्षित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना आर्थिक वर्ष २०७३÷७४ बाट सुरु भएको भएपनि जिल्लाको ३ पालिकामा भने २०७६/०७७ बाट मात्रै कार्यक्रम लागु भएको हो ।
पहिले पालिकामा ५ सय १२ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुँदै आएकोमा हाल ६ सय ६० हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाईका प्रमुख विष्णु प्रसाद शर्माले यसलाई अझै विस्तार गर्नेगरी किसानलाई प्रोत्साह गरिरहेको बताउनुभयो ।
यसरी तरकारी जोन परियोजनामा जोडिएकाहरूले सुरुमा कम्तिमा ९ देखि १० लाख लगानीमा तरकारी खेती सुरु गर्ने गरेको भएपनि सरदर कम्तिमा वार्षिक १ करोड आम्दानी गर्ने गरेका छन् । व्यावसायिक कृषि गर्न चाहनेहरूलाई प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम सारथी बनेको छ ।