माया कँडेल, नवलपुर । नवलपरासीको गैँडाकोटमा कुखुरापालन व्यवसाय फस्टाउँदै गएको छ । थोरै समय र मिहेनतबाटै मनग्य आम्दानी हुने भएपछि किसानहरू कुखुरापालन व्यवसायमा आकर्षित भएका हुन् ।
गैँडाकोट ८ का गोविन्द आचार्यले स्थानीय जातका १५ सय कुखुराबाट खर्च कटाएर महिनाको ६० हजार रुपैयाँसम्म आम्दानी हुने बताउनुभयो । कुखुरालाई आवश्यक पर्ने दाना समेत आफैले उत्पादन गर्दै आएको आचार्यको भनाइ छ । गैँडाकोट ४ का मधु रानाभाटले २ सय २० वटा चल्लाबाट सुरु भएको व्यवसाय अहिले आम्दानीको प्रमूख स्रोत बनेको बताउनुभयो ।
कुखुरापालन कम खर्चमा घरमै बसेर सहज आम्दानी गर्न सकिने व्यवसाय रहेको मधुको अनुभव छ । पछिल्लो समय नवलपुरमा फर्म दर्ता गरेरै कुखुरापालन गर्नेको सङ्ख्या बढिरहेकोे छ । किसानलाई स्थानीय सरकारको पनि सहयोग रहेको गैँडाकोट नगरपालिकाको पशु सेवा शाखाका डाक्टर प्रमोदकुमार पौडेलले बताउनुभयो ।
कुखुरा र अन्डा बेच्नका लागि बजारको अभाव नभए पनि बेलाबेलामा विभिन्न रोगका कारण किसानले कुखुरापालनबाट भने जस्तो आम्दानी भने अझै पनि लिन सकिरहेका छैनन् । कुखुरापालक किसानले स्थानीय सरकारबाट सहयोग खोजिरहेका छन् ।