Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

जग्गा खरिदमै अल्झियो सुर्खेतको चौकुने सिमेन्ट उद्योग

जग्गा खरिदमै अल्झियो सुर्खेतको चौकुने सिमेन्ट उद्योग

पत्रपत्रिका

१५, मंसिर २०७९
जग्गा खरिदमै अल्झियो सुर्खेतको चौकुने सिमेन्ट उद्योग
images

ललित बसेल, सुर्खेत (चौकुने) ।  सुर्खेतको विकासमा महत्त्वपूर्ण योगदान पु¥याउने चौकुने सिमेन्ट उद्योग स्थापना जग्गा खरिदमै अल्झिएको छ । 

images
images

उद्योग स्थापना गर्ने भन्दै २०३५ सालमा खानी तथा भूगर्भ विभागले चौकुने गाउँपालिका–६, चौकुनेमा चुनढुङ्गा, माटोलगायतको परीक्षण गरिसके पनि अहिलेसम्म सिमेन्ट उद्योग स्थापना हुन सकेको छैन । साथै उद्योग स्थापनाको लाइसेन्स २०६६ सालमा मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज प्रालिले लिएको र हाल बल्लतल्ल जग्गा खरिद गर्न लागेको छ । 

अहिलेसम्म उद्योग स्थापनाले गति लिन नसकेपछि लाइसेन्स रद्द गर्नुपर्ने आवाज स्थानीय बासिन्दाले गरेका छन् भने निर्माण कम्पनीले भने जग्गा खरिद प्रक्रिया जारी रहेको र त्यो सकिएपछि उद्योग स्थापनाको दोस्रो चरणको काम थालिने जनाएको छ । 

चौकुने गाउँपालिका–६ का स्थानीय बासिन्दा जीवन देवकोटाले उद्योग स्थापनाको कामको गति निकै ढिलो भएको बताउनुभयो । उहाँले उद्योग स्थापनाका लागि कसैले पनि दबाब र पहल गर्न नसकेको बताउँदै जसका कारण पश्चिम सुर्खेतको विकास हुन नसकेको जिकिर गर्नुभयो । 

यस्तै सोही स्थानकै खगिसरा ढकालले काम नगर्ने भए लाइसेन्स अर्कोलाई दिएर काम गर्न लगाउनुपर्ने बताउनुभयो । उहाँले उद्योग स्थापना हुन्छ भनेको धेरै भए पनि अहिलेसम्म देखिने कुनै काम हुन नसकेको गुनासो गर्नुभयो । 

उद्योग स्थापना हुन सके धेरैले घरमै रोजगारी पाई भारततिर जान नपर्ने, पश्चिम सुर्खेतको विकास हुने र यस क्षेत्रका मानिसको आयस्तरमा वृद्धि हुने थियो भन्दै उहाँले अब पनि काम नगर्ने कम्पनीको लाइसेन्स खारेज गरेर अर्को काम गर्नेलाई दिनुपर्ने बताउनुभयो । 

चौकुने गाउँपालिकाले निर्माण कम्पनीले लाइसेन्स होल्ड गरेर राख्दा काम हुनै नसकेको ठहर गरेको छ । साथै काम नगर्ने कम्पनीलाई लाइसेन्स नवीकरण गर्न नदिने निर्णय पनि गाउँपालिकाले गरेको छ । गाउँपालिका अध्यक्ष खड्क विकले यति लामो समयसम्म काम नगर्ने निर्माण कम्पनीको लाइसेन्स नवीकरण गर्न नदिने गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले गरेको बताउनुभयो । उहाँले निर्माण कम्पनीको लापरबाहीले उद्योग स्थापनाको कामले गति लिन नसकेको आरोप लगाउनुभयो । 

निर्माण कम्पनी मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिजका साइट इन्चार्ज एवं आयोजना अधिकृत लोकबहादुर अधिकारीले उद्योग स्थापनाका लागि जग्गा खरिद प्रक्रिया चलिरहेको बताउनुभयो । उहाँले उद्योग स्थापनाका लागि खानी सञ्चालन गर्न करिब १५० रोपनी जग्गा आवश्यक पर्नेमा अहिलेसम्म करिब ८० रोपनी जग्गा खरिद गरिसकिएको र बाँकी तीन÷चार महिनामा सबै खरिद गरी सकिने जानकारी दिनुभयो । जग्गा खरिद प्रक्रिया सकिएपछि उद्योग स्थापनाको दोस्रो चरणको काम सुरु हुने दाबी उहाँले गर्नुभएको छ । दोस्रो चरणमा खानीका लागि आवश्यक पर्ने संरचना, घरलगायतका काम हुनेछन् । 

जग्गा खरिद गर्दा मूल्य नमिल्ने, जग्गावाला कोही बाहिर बस्ने हुँदा केही समय लागेको स्वीकार्दै उहाँले अहिले भने तीव्र गतिमा काम भइरहेको जिकिर गर्नुभयो । खानी भएको स्थलमा एक्साभेटरलगायतका सामग्री पनि पु¥याएसकिएको उहाँको भनाइ छ । खानी स्थलसम्म पुग्ने सडक पनि निर्माण भइसकेको छ । 

खानी विभागले २०३६ सालदेखि २०३९ सालसम्म चौकुने र बड्डीचौरसँगैको लखरपाटामा ड्रिलिङ गरी ढुङ्गा परीक्षण गरेको थियो । करिब तीन सय फिट गहिराइसम्म ड्रिलिङ गरी ढुङ्गा परीक्षण गरिएको थियो भने सातवटा पिल्लरसमेत निर्माण गरिएको थियो । 

सिमेन्ट उद्योग सञ्चालन भएमा दैनिक एक हजार पाँच सय मेट्रिक टन सिमेन्ट उत्पादन हुने निर्माण कम्पनीले जनाएको छ । कम्पनीका परियोजना अधिकृत अधिकारीले उद्योगमा दुई हजार पाँच सय जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान गर्नुभयो । एक अध्ययनका अनुसार चौकुनेमा करिब चार सय वर्षसम्म उद्योगलाई पुग्ने ढुङ्गा पाइएको जनाइएको छ । गोरखापत्रबाट

images
प्रकाशित मिति :मंसिर १५, २०७९ बिहिवार - ०८:१७:३७ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology