काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेता आज चयन हुँदै छ । मैदानमा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा छन् । यसलाई हजुरबा र नाति पुस्ताबीचको प्रतिस्पर्धाका रुपमा पनि अर्थ्याइएको छ ।हुन पनि संसदीय दलको नेताका लागि ७६ वर्षीय देउवा र ४६ वर्षीय थापा आमनेसामने भएका छन् । संसदीय दलमा यसअघि समकालीन नेताहरूबीच प्रतिस्पर्धा हुँदै आएको थियो । २०७४ मा देउवाविरुद्ध प्रकाशमान सिंह उभिएका थिए । त्यतिखेर देउवाले ४४ र सिंहले १९ मत पाएका थिए । थापा सिंहको पक्षमा थिए ।
२०५६ मा कृष्णप्रसाद भट्टराई, २०५१ मा देउवा र २०४८ मा गिरिजाप्रसाद कोइराला सर्वसम्मत भएका थिए । २०४८ सालमा तत्कालीन पार्टी सभापति कृष्णप्रसाद भट्टराई र नेता गणेशमान सिंहको प्रस्ताव र समर्थनमा गिरिजाप्रसाद नै दलको नेता भएका थिए ।यतिखेर रामचन्द्र पौडेल, प्रकाशमान सिंहजस्ता विगतका प्रतिस्पर्धी अहिले देउवाको पक्षमा उभिएका छन् । अर्थात् उनीहरूले आफ्नो पुस्तालाई समर्थन गरेका छन् । यस्तै विमलेन्द्र निधि र सशांक कोइरालालगायतको साथ पनि देउवालाई नै छ । गत महाधिवेशनमा सुरुमा देउवाको विरोधमा रहेर पछि उनैलाई समर्थन गर्न पुगेका नेताहरु अहिले निःसर्त देउवा खेमामा उभिएका छन् ।
संसदीय दलमा देउवाको पल्लाभारी छ भन्नका लागि कुनै गणितज्ञ वा ज्योतिषी आवश्यक पर्दैन । कोइराला परिवारबाट कुनै दाबी नपर्नु नै देउवाको जित सुनिश्चित हुनु हो । शेखरले पनि आफू नजित्ने भएपछि देउवाकै निम्ति मैदान खाली गरिदिएका हुन् । यो किन पनि आवश्यक थियो भने सुरुमा देउवाकै उक्साहटमा थापाले शेखरलाई रोक्ने योजना बनाए । अहिले थापालाई लडाउन शेखरले दाबी छाडिदिए । गगन थापाको रहर पनि पूरा हुने र चुरीफुरी पनि समाप्त हुने गरी शेखरले गगनलाई संसदीय दलको नेताको निर्वाचनमा अघि सारेका छन् ।
खासगरी बूढाको पक्षमा लागेको भनेर सार्वजनिकरुपमै विरोध र बेइज्जती खेप्नुपर्ने भयले पनि प्रदीप पौडेल, बद्री पाण्डे, दीपक गिरीलगायत गगनसँग फोटो खिचाउन पुगेका थिए । अब रातिभरिमा धेरै विकास भइसकेको छ । सार कुरा के हो भने गगनको पक्षमा हिजोसम्म जो धेरै चर्को स्वरमा बोलेका थिए र जसले उनीसँग तस्बिर खिचाउने होड देखाएका थिए, तीमध्ये धेरैको यो बाहिर सार्वजनिक खपतको रणनीति मात्र थियो । भित्रभित्रै उनीहरूको कुरा देउवासँग मिलिसकेको थियो । जे होस्, यस संसदीय निर्वाचनले कांग्रेसभित्रको भावी राजनीतिक समीकरणलाई थप रोचक आयाममा ढालिदिने भएको छ ।