चितवन । माडीको बघौडा अस्पतालको सेवा प्रवाह र आर्थिक पारदर्शिताको विषयमा गम्भीर प्रश्न उठेको छ। बघौडा अस्पताल माडी नगरपालिका अन्तर्गतको सरकारी नगर अस्पताल हो । सरकारी अस्पतालको आम्दानी अमुक व्यक्तिको खातामा जम्मा हुनु गम्भीर बेथिति हो ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले चाडपर्वको समयमा पनि खटिएर दिएको सेवा र तत्परताप्रति कृतज्ञता व्यक्त गर्दै पाण्डेले अस्पतालको आर्थिक कारोबारमा भने गम्भीर बेथिति देखिएको बताए । कुनै पनि सरकारी संस्थाको राजस्व वा आम्दानी व्यक्तिगत खातामा लिनु कानुनी रूपमा दण्डनीय र गैरकानुनी कार्य हो । सामान्य चोटपटकको उपचारका लागि समेत आवश्यक पर्ने एन्टिबायोटिक औषधि अस्पतालभित्रको फार्मेसीमा नपाएर बाहिरका औषधि पसलमा धाउनुपर्ने बाध्यता छ। आकस्मिक सेवामा प्रयोग हुने अत्यावश्यक औषधिहरूको नियमित मौज्दात सुनिश्चित गर्नुपर्ने उनले सुझाए ।
माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतोले अस्पतालको आम्दानी व्यक्तिको खातामा जम्मा भएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताइन् । सिस्टम नहुँदा अहिलेसम्म अस्पतालका कर्मचारीले आफ्नो व्यक्तिगत खातामा रकम जम्मा गर्ने र १५-१५ दिनमा अस्पतालको खातामा जम्मा गर्ने गरेको उनले स्वीकार गरिन् । ‘आर्थिक अनियमितता हुनु हुँदैन । नगरपालिकाभित्र पनि यो कुरालाई मैले नियन्त्रण गरिरहेको छु । बघौडा अस्पतालको कुरा उठेको छ । यसलाई हामी चाँडै नै सिस्टममा लैजान्छौँ’, उनले भनिन् ।