Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

प्रकृति र सामाजिक सद्भावको अनुपम उत्सवःछठ पर्व

प्रकृति र सामाजिक सद्भावको अनुपम उत्सवःछठ पर्व

images

इच्छाकामना न्युज

२८, कार्तिक २०८३
प्रकृति र सामाजिक सद्भावको अनुपम उत्सवःछठ पर्व
images

अजयकुमार साह

धनुषा। छठ पर्वको यो लोकगीत यतिबेला मिथिलाञ्चलका गाउँसहरमा गुञ्जिरहेका छन् । छठीमातालाई चढाइने पवित्र प्रसाद केरालाई चराचुरुङ्गीले नखाऊन भन्ने भाव बोकेको यस गीतले छठको धार्मिक आस्था, पवित्रता र प्रकृतिप्रतिको प्रेमलाई एकसाथ अभिव्यक्त गर्छ । चार दिवसीय छठ पर्व आजदेखि विधिवत् सुरु भएको छ ।

चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्व नजिकिएसँगै तराई–मधेसका गाउँबस्ती, सहर, बजार र जलाशयमा छुट्टै रौनक छाएको छ । घरआँगनदेखि नदी, पोखरी र तलाउसम्म सरसफाइ तथा सजावटले उत्सवमय बनेका छन् । बजारमा बाँसका सामग्री, माटाका भाँडाकुँडा, फलफूल, उखु, अदुवा, केरा, नरिवललगायत पूजाका सामग्री किनमेल गर्नेको चहलपहल बढेको छ ।

घरबाट टाढा रोजगारी र अध्ययनका लागि गएका परिवारका सदस्यसमेत पर्व मनाउन घर फर्किन थालेपछि गाउँबस्तीमा पारिवारिक भेटघाट र आत्मीयताको माहोल बनेको छ । मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी भन्नुहुन्छ, “छठ केवल धार्मिक अनुष्ठान मात्र होइन, प्रकृति, कृषि, संस्कृति, सामाजिक सद्भाव र पारिवारिक एकताको जीवन्त प्रतीक पनि हो ।

प्रत्यक्ष देखिने देवता मानिने सूर्यको उपासना गर्दै मनाइने यस पर्वमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई समान श्रद्धाका साथ अघ्र्य अर्पण गरिन्छ । संसारलाई प्रकाश, ऊर्जा र जीवन प्रदान गर्ने सूर्यप्रति कृतज्ञता व्यक्त गर्नु नै यस पर्वको मूल भाव हो ।”

सूर्य उपासना र छठीमाताको महिमा

छठ पर्वमा सूर्यदेवसँगै षष्ठी देवीअर्थात् छठीमाताको पूजा गरिन्छ । पौराणिक मान्यताअनुसार षष्ठी माताले सन्तानको रक्षा गर्नुका साथै उनीहरूलाई स्वास्थ्य, दीर्घायु र सुख प्रदान गर्छिन् ।

सन्तान प्राप्ति, सन्तानको कल्याण, पारिवारिक सुख, शान्ति र समृद्धिको कामनासहित श्रद्धालुहरू यस पर्वमा कठोर व्रत बस्ने गर्छन् । धार्मिक मान्यताअनुसार प्रकृति देवीको छैटौँ अंशका रूपमा षष्ठी देवीको उत्पत्ति भएको हो । त्यसैले उहाँलाई षष्ठी भनिएको र स्थानीय बोलीचालीमा छठीमाता भन्ने गरिएको विश्वास छ । पुराणमा षष्ठी देवीलाई ब्रह्माकी मानसपुत्री तथा कात्यायनीका रूपमा समेत उल्लेख गरिएको पाइन्छ ।

छठीमाताको पूजा सुरु भएको सम्बन्धमा राजा प्रियव्रतको पौराणिक कथा प्रचलित छ । सन्तान नहुँदा दुःखी भएका राजा प्रियव्रतले महर्षि कश्यपको सल्लाहमा पुत्रेष्टि यज्ञ गराएका थिए । यज्ञपछि जन्मिएको शिशु मृत अवस्थामा जन्मिएपछि राजा शोकमा डुबेका थिए । त्यसैबेला दिव्य देवी प्रकट भई मृत शिशुलाई जीवन प्रदान गरेको धार्मिक कथन छ । देवीको कृपाबाट प्रभावित राजाले षष्ठी देवीको स्तुति गरेपछि छठ पूजाको परम्परा सुरु भएको जनविश्वास छ ।

सूर्यको उपासनाले आरोग्य, ऊर्जा, तेज, समृद्धि र सकारात्मक चेतना प्राप्त हुने धार्मिक विश्वास छ । रामायण र महाभारतकालीन कथासँग समेत सूर्य उपासनाको सम्बन्ध जोडिएको पाइन्छ । श्रीरामले रावणसँगको युद्धमा विजय प्राप्त गर्नुअघि आदित्य हृदयस्तोत्रको पाठ गरेको तथा श्रीकृष्णका पुत्र साम्बले सूर्यको उपासनाबाट कुष्ठरोगबाट मुक्ति पाएको पौराणिक प्रसङ्गले यस पर्वको धार्मिक महत्त्वलाई थप उजागर गर्छ ।

चार दिन, चार विधि र कठोर आस्था

छठ पर्वको विशेषता यसको चार दिवसीय विधि हो । पुरोहित लालबाबु झाका अनुसार कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यस पर्वको प्रत्येक दिनको आफ्नै धार्मिक र सांस्कृतिक महत्व छ । चैत महिनामा पनि यही विधिअनुसार छठ मनाउने परम्परा छ, जसलाई चैती छठ भनिन्छ ।

पर्वको पहिलो दिनलाई ‘नहाय–खाय’ वा ‘अरबा–अरबाइन’ भनिन्छ । यस दिन बर्तालुहरू नदी, पोखरी तथा अन्य जलाशयमा स्नान गरी शुद्ध हुन्छन् । घरको सरसफाइ तथा पूजाको तयारी गरेपछि चोखो खाना ग्रहण गर्छन् । यस दिनदेखि नै बर्तालुले खानपानमा विशेष शुद्धता अपनाउँदै माछामासु, लसुन, प्याजलगायतका खाद्यवस्तु त्याग्ने गर्छन् ।

दोस्रो दिनअर्थात् पञ्चमीलाई ‘खरना’ भनिन्छ । यस दिन बर्तालु दिनभरि निर्जला उपवास बसेर साँझ चन्द्रदर्शनपछि पूजा गर्छन् । नयाँ चुलोमा शुद्धतापूर्वक तयार पारिएको खीर,केरा र अन्य प्रसाद ग्रहण गरी परिवार तथा छरछिमेकलाई समेत प्रसाद वितरण गरिन्छ । खरनापछि बर्तालुले कठिन निर्जला व्रत सुरु गर्छन् ।
तेस्रो दिन षष्ठीका दिनलाई ‘सझिया घाट’ भनिन्छ । यस दिन गहुँ र चामललाई परम्परागत जातो, ढिकी वा ओखलमा कुटेर तयार पारिएको पिठोबाट ठेकुवा, भुसुवा, कसारलगायतका प्रसाद बनाइन्छ ।

बाँसको सुप, डाला र अन्य भाँडामा उखु, नरिवल, केरा, अदुवा, फलफूल तथा विभिन्न कृषि उपज सजाएर साँझपख बर्तालुहरू जलाशयमा पुग्छन् । अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरी परिवारको सुख, शान्ति र समृद्धिको कामना गरिन्छ । पर्वको चौथो दिन सप्तमीमा बिहान सबेरै बर्तालुहरू पुनः जलाशयमा पुगेर उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्छन् । यसलाई ‘पारन’ भनिन्छ । बिहानको अघ्र्यसँगै चार दिनसम्मको कठिन व्रत सम्पन्न हुन्छ । त्यसपछि बर्तालुले प्रसाद ग्रहण गरी व्रत समापन गर्छन् ।

सामाजिक सद्भाव र समानताको सन्देश

छठ पर्वको सबैभन्दा सुन्दर पक्ष सामाजिक समावेशिता र समानताको सन्देश हो । जात, धर्म, वर्ग, लिङ्ग र आर्थिक अवस्थाका आधारमा कुनै भेदभाव नगरी सबै समुदायका मानिस एकै ठाउँमा भेला भएर सूर्यको आराधना गर्छन् । धनी–गरिब, सानो–ठूलो सबैले एउटै जलाशयमा उभिएर अघ्र्य अर्पण गर्ने परम्पराले सामाजिक समानताको सन्देश प्रवाह गर्छ ।

समाजशास्त्री नागेन्द्र दुबे सूर्य उपासनाको परम्परामा छठलाई विशिष्ट पर्वका रूपमा व्याख्या गर्नुहुन्छ । उहाँका अनुसार अस्ताउँदो र उदाउँदो सूर्यलाई समान श्रद्धाका साथ पूजा गरिने भएकाले संसारका अन्य सूर्य उपासना परम्पराभन्दा छठको विशेष महत्त्व छ ।

छठले सामाजिक सम्बन्धलाई समेत बलियो बनाउने गरेको छ । वर्षौंदेखि भेटघाट हुन नसकेका आफन्त, साथीभाइ र छिमेकीलाई एकै ठाउँमा भेट्ने अवसर प्रदान गर्छ । बर्तालुलाई सहयोग गर्ने, घाट सजाउने, सरसफाइ गर्ने र पूजा व्यवस्थापनमा सामूहिक सहभागिता जनाउने परम्पराले समुदायबीच सहकार्य र आत्मीयता बढाउँछ ।

छठ राष्ट्रिय पहिचानको पर्व बन्दै गएको छ । पहाडी समुदायका महिला तथा अन्य समुदायका मानिससमेत श्रद्धापूर्वक छठ मनाउन थालेका छन् । कतिपय मुस्लिम समुदायका व्यक्ति पनि यस पर्वको व्यवस्थापन र सामाजिक गतिविधिमा सहभागी हुने गरेका छन् ।

संस्कृति, कृषि र सीपको जीवन्त सङ्गम

प्राज्ञ रामभरोस कापडीका अनुसार छठ पर्वले स्थानीय कृषि उत्पादन, परम्परागत सीप र ग्रामीण अर्थतन्त्रलाई जोडेको छ । उहाँले पर्वका लागि आवश्यक पर्ने सामग्रीमध्ये अधिकांश स्थानीय किसान, कुमाले र हस्तकलाका सामग्री बनाउने समुदायको श्रमसँग सम्बन्धित रहेको बताउनुभयो । माटाका कलश, दियो, हात्ती तथा अन्य सामग्री कुमाले समुदायले तयार गर्छन् भने बाँसको चोयाबाट बनाइने सुप, डाला, नाङ्लो, डगरा, सुपली, छैँटी र बेनालगायतका सामग्री डोम समुदायका हस्तकर्मीले तयार पार्छन् ।

छठमा उक्त सामग्रीको अनिवार्य प्रयोगले परम्परागत पेसा र सीपलाई निरन्तरता दिन सहयोग पु¥याएको छ । किसानले उत्पादन गरेका केरा, उखु, अदुवा, नरिवल, फलफूल, गहुँ र चामललगायतका कृषिउपज छठका प्रमुख प्रसादका रूपमा प्रयोग हुन्छन् । गहुँको पिठोबाट बनाइने ठेकुवा, चामल र सक्खरबाट तयार पारिने खीर तथा अन्य परम्परागत परिकारले मिथिलाको मौलिक खानपान संस्कृतिलाई उजागर गर्छन् ।

पर्वका अवसरमा गाउँसहरका सडक किनारमा लाग्ने बजारले स्थानीय उत्पादन र हस्तकलालाई उपभोक्तासम्म पु¥याउने अवसर प्रदान गर्छ । किसान,व्यापारी,कुमाले,बाँसका सामग्री निर्माता तथा साना व्यवसायीको आम्दानी बढाउन सहयोग पु¥याउँछ । यस अर्थमा छठ धार्मिक आस्थासँगै स्थानीय अर्थतन्त्र चलायमान बनाउने महत्त्वपूर्ण अवसर पनि हो ।

प्रकृतिप्रति कृतज्ञता र संरक्षणको सन्देश

छठ पर्वको अर्को महत्त्वपूर्ण पक्ष प्रकृतिप्रतिको सम्मान र संरक्षण हो । सूर्य, जल, भूमि, वनस्पति तथा कृषि उत्पादनलाई महत्व प्रदान गर्ने उक्त पर्वले मानव जीवन प्रकृतिसँग अभिन्न रूपमा जोडिएको सन्देश दिन्छ । खुला आकाशमुनि नदी, पोखरी र जलाशयमा उभिएर सूर्यलाई अघ्र्य अर्पण गर्ने परम्पराले पानी र वातावरणको महत्वलाई स्मरण गराउँछ । सूर्यको प्रकाशबिना कृषि उत्पादन र मानव जीवन सम्भव नहुने भएकाले किसानले वर्षभरि मिहिनेत गरेर उत्पादन गरेका अन्न तथा फलफूल सूर्यदेवलाई अर्पण गरी प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्छन् ।

जनकपुरधामका गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रुक्मिणी सरोवर, अरगजा, महाराजसागर र अग्निकुण्डलगायतका ऐतिहासिक जलाशय छठ पर्वका बेला श्रद्धालुले भरिने गर्छन् । छठले सफा जलाशय, स्वच्छ वातावरण र सामूहिक जिम्मेवारीको महत्त्व पनि उजागर गर्छ । तर, बढ्दो सहरीकरण र जलाशयमा फोहोर व्यवस्थापनको चुनौतीका बीच पर्वको मूल मर्मअनुसार जलस्रोत संरक्षणलाई व्यवहारमा उतार्नु आवश्यक देखिन्छ ।

 
 

images
प्रकाशित मिति :कार्तिक २८, २०८३ शुक्रवार - १७:४३:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology