Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

जलवायुजन्य विपद्का आवाज विश्वसामु पुर्‍याउने थलो बन्यो नेपाल पेभेलियन

जलवायुजन्य विपद्का आवाज विश्वसामु पुर्‍याउने थलो बन्यो नेपाल पेभेलियन

images

इच्छाकामना न्युज

२८, कार्तिक २०८३
जलवायुजन्य विपद्का आवाज विश्वसामु पुर्‍याउने थलो बन्यो नेपाल पेभेलियन
images

भीष्मराज ओझा

अन्ताल्या (टर्की) यही कात्तिक २३ गतेदेखि यहाँ जारी कोप–३१ मा नेपाल सरकारले स्थापना गरेको ‘नेपाल पेभेलियन’ जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका विपद्, जलवायु अन्याय तथा अनुकूलनका प्रयास र सफल अभ्यासलाई अन्तरराष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्न प्रभावकारी देखिएको छ ।

टर्किएमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपालले आफ्नै पेभेलियनमार्फत जलवायु परिवर्तनका चुनौती, त्यसबाट प्रभावित समुदायका आवाज तथा नेपालले अवलम्बन गरेका अनुकूलनका उपायबारे विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

नेपालमा पछिल्लो समय भोटेकोसीलगायतका क्षेत्रमा भएका जलवायुजन्य विपद्ले निम्त्याएको क्षति र त्यसबाट उत्पन्न चुनौतीलाई विश्व समुदायसमक्ष उजागर गर्नुपर्ने आवश्यकता महसुस भएपछि आफ्नै पेभेलियन स्थापना गर्ने निर्णय गरिएको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ ।

नेपालले जलवायु परिवर्तनका असर भोगिरहेको भए पनि आफ्ना अनुभव, समस्या, अनुकूलनका सफल अभ्यास र प्रयासलाई अन्तरराष्ट्रिय मञ्चमा पर्याप्त रूपमा प्रस्तुत गर्न संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनका साइड इभेन्ट मात्र पर्याप्त नहुने देखिएपछि छुट्टै पेभेलियन आवश्यक भएको मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका अनुसन्धान अधिकृत तथा नेपाल पेभेलियनका फोकल पर्सन प्रकाश लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार पेभेलियन स्थापनाका लागि सुरुमा ठूलो आर्थिक चुनौती देखिएको थियो । पेभेलियनका लागि आवश्यक स्थानको भाडा मात्रै करिब रु.डेढ करोड पर्ने अनुमान गरिएको थियो । तत्काल सरकारी स्रोतबाट उक्त रकम व्यवस्थापन गर्न कठिन भएपछि टर्किए सरकारसँग विभिन्न माध्यमबाट अनुरोध गरिएको थियो । नेपालको अनुरोधपछि टर्किए सरकारले करिब रु डेढ करोड मूल्य बराबरको पेभेलियनस्थल निःशुल्क उपलब्ध गराएको लामिछानेले बताउनुभयो ।

पेभेलियनको कूल क्षेत्रफल ४८ वर्गमिटर रहेको छ । यसभित्र कार्यालय प्रयोजनका लागि छुट्टै सानो कोठा तथा बाहिर करिब ३० जना सहभागी अट्ने गरी कार्यक्रम सञ्चालन गर्न मिल्ने मञ्चसहितको व्यवस्था गरिएको छ । स्थान निःशुल्क प्राप्त भए पनि पेभेलियनको सजावट तथा आवश्यक पूर्वाधार व्यवस्थापन अर्को चुनौती बनेको थियो । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि ९य्एनएफसीसीसी० र कोप आयोजक समितिको व्यवस्थापनमार्फत सजावट गर्दा करिब एक लाख अमेरिकी डलर खर्च हुने प्रारम्भिक अनुमान गरिएको थियो ।

त्यति ठूलो रकम जुटाउन कठिन भएपछि आयोजकले अन्ताल्याका स्थानीय बजारबाट कुर्सी, टेबललगायत आवश्यक सामग्री खरिद गरी पेभेलियन व्यवस्थापन गरेको उहाँले जानकारी दिनुभयो । यसरी व्यवस्थापन गर्दा अनुमानित खर्चको करिब ६० प्रतिशतमा काम सम्पन्न गर्न सम्भव भएको उहाँको भनाइ छ । यसका लागि विकास साझेदार तथा जलवायु परिवर्तनको क्षेत्रमा कार्यरत विभिन्न संस्थाले सहयोग गरेका छन् ।

पेभेलियनको औपचारिक उद्घाटन यही नोभेम्बर ९ मा गरिएको थियो । यद्यपि, यसको तयारीका लागि नेपाली टोली नोभेम्बर ३ देखि नै अन्ताल्यामा खटिएको थियो । आवश्यक सामग्री ढुवानी, जडान, व्यवस्थापन तथा अन्य प्राविधिक र लजिस्टिक तयारीमा भाषागत कठिनाइसमेत सामना गर्नुपरेको लामिछानेले बताउनुभयो ।

नेपाल पेभेलियनमा सम्मेलन अवधिभर दैनिक न्यूनतम चारदेखि अधिकतम छवटासम्म कार्यक्रम सञ्चालन गर्ने गरी ४७ देखि ४८ वटा कार्यक्रम तय गरिएको छ । ती कार्यक्रममार्फत नेपालको जलवायु सङ्कट, विपद् जोखिम, अनुकूलनका अभ्यास, जलवायु वित्त, हिमाली क्षेत्रका समस्या तथा जलवायु न्यायका विषयमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय विज्ञ, नीति निर्माता र सरोकारवालाबीच छलफल भइरहेको छ ।

लामिछानेका अनुसार नेपाल पेभेलियन केवल कार्यक्रम आयोजना गर्ने स्थल मात्र नभई जलवायु परिवर्तनबाट बढी प्रभावित मुलुकका रूपमा नेपालले भोगिरहेका समस्या त्यसको न्यूनीकरणका लागि भइरहेका प्रयास र अन्तर्राष्ट्रिय समुदायको दायित्वबारे आवाज उठाउने साझा मञ्चसमेत बनेको छ । नेपालले आफ्ना अनुभव र मुद्दालाई अन्तरराष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्न तथा जलवायु परिवर्तनका क्षेत्रमा भएका राष्ट्रिय प्रयासलाई विश्वव्यापी बहससँग जोड्न पेभेलियनले महत्त्वपूर्ण अवसर प्रदान गरेको छ ।

images
प्रकाशित मिति :कार्तिक २८, २०८३ शुक्रवार - १६:४१:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology