पवित्रा पराजुली, नवलपुर । आर्थिक सङ्कट चुलिएपछि नवलपुरमा उद्योग व्यवसाय बन्द हुने क्रम बढेको छ । जिल्ला उद्योग सङ्घ नवलपुरका अनुसार कोरोना महामारिपछि २० प्रतिशत उद्योगहरू बन्द भएका छन् । नवलपुरमा अहिले ५ हजारभन्दा बढी उद्योग सञ्चालनमा छन् । व्यवसायी सुकबहादुर दराईले गैँडाकोट ७ मा सञ्चालन गरेको दालमोठ उद्योगमा १ करोडभन्दा बढी घाटा भएपछि बन्द गर्नुपरेको बताउनुभयो ।
पर्यटन तथा उद्योग कार्यालय नवलपुरको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ६ महिनामा मात्रै २ सय ५७ नयाँ उद्योग दर्ता हुँदा ४० लाख ६ हजार राजश्व सङ्कलन भएको छ । तर व्यवसायीहरू भने उद्योग व्यवसाय उकास्नेगरि सरकारले कुनै काम नगरेको बताउँछन् ।
सरकारले लगानीमैत्री वातावरण नबनाउँदा उद्योगी, व्यवसायीहरू उद्योग, व्यवसाय बन्द गर्ने मनसायमा पुगेका उद्योग वाणिज्य सङ्घ नवलपुरका महासचिव छविलाल कँडेलले बताउनुभयो । राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ अनुसार नेपालमा लगभग ६० हजार उद्योग छन् । ती मध्ये खानी तथा उत्खनन् क्षेत्रमा ३५६, उत्पादन क्षेत्रमा ५६, विद्युत तथा ग्यास सेवा क्षेत्रमा झण्डै १ हजार उद्योग छन् ।