देवघाट । तनहुँको देवघाट गाउँपालिकाले समयमै काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई कालो सूचीमा राखेका छन् । देवघाट गाँउपालिकाको वडा नम्बर १,२ र ३ को सिमानामा बनाउन खोजिएको घण्टाचुली पर्यटन पूर्वाधार आयोजनाको ठेक्का लिएको मृत सञ्जिवनी–शिवशक्ति ईको जेभीलाई पटक–पटक ताकेता गर्दा समेत कार्य सम्पन्न नगरेपछि पालिकाले कालो सूचीमा राखेको देवघाट गाँउपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले बताए ।
सुवेदीका अनुसार मृत सञ्जिवनी–शिवशक्ति ईको जेभीलाई सम्झौता अनुसार कार्य सम्पन्न गर्न पटकपटक पत्राचार गर्नुका साथै मौखिक रुपमा समेत खबर गरिएको र प्राविधिक प्रतिवेदन अनुसार कार्य प्रगति नदिएकोले उक्त कामको ठेक्का लिने कम्पनीसँग ठेक्का सम्झौता तोड्नु परेको बताए ।
कार्य सम्पन्न गर्ने अन्तिम मिति यही असार २८ गते भएकोले सो समय पछि म्याद थप नगर्ने,ठेक्का तोड्ने र बैंक ग्यारेन्टी जफत गरी गाउँपालिकाको खातामा जम्मा गर्ने गरी निर्माण ब्यवसायीलाई कालोसूचीमा राखिएको देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले बताए । यो गाउँपालिकाको पहिलो कदम रहेको थापाले बिहानी मिडियालाई जानकारी दिए ।