Logo

बुधवार, कार्तिक २६ गते २०८३

images
२०८३, कार्तिक २६ गते
images

ममता काफ्ले हत्या प्रकरण : नरेश भट्ट सबै आरोपमा दोषी ठहर

ममता काफ्ले हत्या प्रकरण : नरेश भट्ट सबै आरोपमा दोषी ठहर

images

एजेन्सी

२६, कार्तिक २०८३
ममता काफ्ले हत्या प्रकरण : नरेश भट्ट सबै आरोपमा दोषी ठहर
images

अमेरिका । नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका पति नरेश भट्टलाई अमेरिकी अदालतले दोषी ठहर गरेको छ । करिब ६ सातासम्म चलेको सुनुवाइपछि अदालतको जुरीले भट्टलाई प्रथम श्रेणीको हत्या, शव लुकाउने तथा शवको अपमान गर्ने लगायतका सबै गम्भीर आरोपमा सर्वसम्मत रूपमा दोषी ठहर गरेको हो ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार, फैसलासँगै भट्टलाई जन्मकैदसम्मको सजाय हुन सक्नेछ। उनको सजाय निर्धारणका लागि आगामी मार्च १२ को मिति तोकिएको छ ।

बहुचर्चित उक्त मुद्दाको सुनुवाइका क्रममा अदालतले करिब १०० जना साक्षीको बयान सुनेको थियो । अभियुक्त भट्ट स्वयंले पनि अदालतमा उपस्थित भएर आफ्नो पक्षमा बयान दिएका थिए ।

गत साता अदालतमा बयान दिने क्रममा भट्टले ममताको हत्या आफूले नगरेको दाबी गरेका थिए । उनले सन् २०२४ जुलाई ३० को बिहान ओछ्यानको फेदमा बान्ता र रगतको बीचमा ममता अचेत अवस्थामा लडिरहेको फेला पारेको बताएका थिए ।

उनका अनुसार, घटनास्थलनजिकै विषालु कीटनाशक औषधिको खुला पोका पनि भेटिएको थियो । ममतालाई बचाउन नसकेपछि आफू आत्तिएको र त्यसपछि शव व्यवस्थापन गरेको उनको भनाइ थियो ।

भट्टले ममताको शव सुरुमा बाथरुममा लगेको र पछि फोहोर फाल्ने डस्टबिनमा राख्न खोजेको स्वीकार गरेका थिए । डस्टबिनमा शव नअटेपछि उनले शवका टुक्रा पारेर पाँच फरक स्थानका डम्पस्टरमा फालेको बयान दिएका थिए । यद्यपि, उनले ममताको हत्या आफूले नगरेको र उनले आत्महत्या गरेको दाबी गर्दै आएका थिए ।

त्यसैगरी, शव टुक्रा पार्न प्रयोग गरिएको मेसिन आफूले घरवरपर काम गर्ने एक स्थानीय व्यक्तिलाई ज्यालाबापत दिएको पनि उनले बताएका थिए । तर, फरेन्सिक परीक्षणका क्रममा उक्त मेसिनमा भेटिएको रगत ममताकै भएको पुष्टि भएको थियो ।

सरकारी वकिलहरूले भने भट्टको आत्महत्यासम्बन्धी दाबी अस्वीकार गर्दै उनले पूर्वयोजनाअनुसार ममताको हत्या गरेको जिकिर गरेका थिए । अभियोजन पक्षले अदालतमा प्रस्तुत गरेका प्रमाण र तर्कका आधारमा जुरीले भट्टलाई सबै आरोपमा दोषी ठहर गरेको हो ।

सुनुवाइका क्रममा ममताका दाजु महेश काफ्ले तथा उनका साथीहरूले पनि बयान दिनुभएको थियो । उहाँहरूले नरेशले ममतामाथि निरन्तर शारीरिक हिंसा गर्ने गरेको बताउनुभएको थियो ।

नेपालमा हुर्किएका नरेश भट्ट सन् २०१५ मा अमेरिका पुगेका थिए । अमेरिकी आर्मी रिजर्भमा आबद्ध भएपछि उनले अमेरिकी नागरिकता प्राप्त गरेका थिए । सन् २०२० डिसेम्बरमा ममतासँग विवाह गरेपछि उनले उनलाई अमेरिका लगेका थिए ।

ममता आफ्नो अन्तिम आप्रवासन (इमिग्रेसन) अन्तर्वार्ता हुनुभन्दा करिब एक साताअघि सन् २०२४ जुलाईमा बेपत्ता हुनुभएको थियो । उहाँको बेपत्तासम्बन्धी अनुसन्धान अघि बढ्दै जाँदा घटना हत्या प्रकरणका रूपमा विकसित भएको थियो ।

नेपाली समुदायमा समेत व्यापक चासो र चिन्ता पैदा गरेको यस घटनामा अदालतको पछिल्लो फैसलालाई न्यायिक प्रक्रियाको महत्वपूर्ण निष्कर्षका रूपमा हेरिएको छ ।

images
प्रकाशित मिति :कार्तिक २६, २०८३ बुधवार - १०:४५:१३ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology