चितवन, असार । हरेक वर्ष पहिरोले दुःख दिँदै आएपछि नारायणगढ–मुग्लिन सडकको विकल्प खोजिन थालिएको छ। त्यसका लागि हाल चार वटा विकल्प देखिएका छन्। तिनमा केही निर्माण कार्य थप्न आवश्यक देखिएको छ।
एउटा विकल्प पूर्वी नवलपरासीको गैँडाकोटदेखि तनहुँको देवघाट, दासढुङ्गा हुँदै मुग्लिनसम्म अहिलेको सडकपारि तनहुँतर्फ त्रिशूलीको किनारैकिनारको छ। त्यस्तै अर्को चितवनको भण्डाराबाट धादिङको मलेखुसम्म अहिले ‘सिङ्गल ट्र्याक’ खोलेर काम अघि नबढाई रोकिएको भण्डारा–मलेखु सडक छ।
तेस्रोमा नारायणगढ–मुग्लिन सडकमै पर्ने घुमाउनेमा त्रिशूली नदीमाथि अलपत्र परेको पुल बनाउन सके मात्रै पनि नारायणगढबाट पोखरा जाने बाटो खुल्ने र विकल्प बन्ने छ।
सडक विभागले डिभिजन सडक कार्यालय भरतपुरलाई वैकल्पिक सडकबारे अध्ययन गर्न निर्देशन दिइसकेको छ। डिभिजन सडक कार्यालय भरतपुरका डिभिजन प्रमुख (डिई) रमेशप्रसाद पौडेलले अहिलेको सडकपारि त्रिशूली किनारैकिनार तनहुँतर्फ नयाँ सडक बनाउन सकिने गरी गृहकार्य सुरु भएको जानकारी दिनुभयो।
“पूर्वी नवलपरासीको गैँडाकोटदेखि तनहुँको देवघाट, दासढुङ्गा हुँदै मुग्लिनसम्म सडक बनाउने गरी गृहकार्य हुँदै छ,” उहाँले भन्नुभयो।
सुरुमा नयाँ सडक बनाउनु पर्ने ठाउँलाई राष्ट्रिय सडक कायम गरिनुपर्ने भएकाले अहिले त्यो निर्णयका प्रस्ताव मन्त्रीपरिषद्मा लैजान टिप्पणी तयारीको काम भइरहेको उहाँले जनाउनुभयो। उक्त टिप्पणी सडक विभाग, भौतिक योजना मन्त्रालय हुँदै मन्त्रीपरिषद्को बैठकमा प्रस्तुत गरिने छ।
मन्त्रीपरिषद्बाट निर्णय भएलगत्तै नयाँ सडक निर्माणका लागि परियोजनाको विस्तृत अध्ययन डिपिआर बनाउने, स्रोतको खोजी गरी योजना निर्माणका लागि प्रक्रिया अघि बढ्ने छ।
वैकल्पिक सडक बनाउन प्रस्ताव गरिएको गैँडाकोटदेखि मुग्लिनसम्म करिब ३८ किलोमिटरको दूरी पर्छ। त्यसमा पनि गैँडाकोटदेखि दासढुङ्गासम्मको १६ किलोमिटर अहिले पनि कालोपत्रे सडक नै छ। अब दासढुङ्गादेखि मुग्लिनसम्मको २० किलोमिटर सडक बनाउने हो भने नारायणगढ–मुग्लिन सडककै कारण यात्रुले भोग्नुपरेको समस्या समाधान हुने विश्वास गरिएको छ।
त्रिभुवन विश्वविद्यालय भूगर्भ शास्त्रका विभागीय प्रमुख प्राडा खुमनारायण पौडेलले त्रिशूलीपारि नयाँ सडक राम्रो विकल्प रहेको र भौगोलिक अवस्था अनि एउटै चट्टानको स्वरूप भएकाले पनि यो ठाउँ सडक बनाउन उपयुक्त रहेको बताउनुभयो। उहाँले नारायणगढ–मुग्लिन सडकमा पहिरो मात्रै काटेरभन्दा पनि साना–साना सुरुङ बनाएर सडक बनाउन सक्ने हो भने पहिरोको जोखिम कम हुने उहाँले जनाउनुभयो। यसका अलवा चितवनकै शक्तिखोरबाट पृथ्वीराजमार्गको माझिमटार निकाल्ने गरी सुरुङ मार्गको पनि सडक विभागले अध्ययन सुरु गरेको गोरखापत्र दैनिकमा खबर छ ।