गोरखा – अवैध रुपमा भरुवा बन्दुक राखेको आरोपमा गोरखामा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शहिदलखन गाउँपालिका –९ नामजुङका २४ वर्षीय सन्दीप भुजेल, ३३ वर्षीय पर्वतबाबु थापा र ४८ वर्षीय कुल बहादुर घर्ती रहेका छन् ।
शुक्रबार पक्राउ परेका उनीहरु बिरुद्ध आइतबार हातहतियार तथा खरखजाना कसूर शीर्षकमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय, गोरखाले जनाएको छ । अवैध रुपमा बन्दुक लुकाएर राखेको भन्ने गोप्य सूचनाको आधारमा खोजतलास गर्दा उनीहरुको घरमा एकरएक थान भरुवा बन्दुक फेला परेको डिएसपी रमेशकुमार श्रेष्ठले बताए । उक्त बन्दुकहरु प्रहरीले बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।