आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका १ बरादी निवासी लोकदोहोरी गायक एवं सर्जक कमल सापकोटा सम्मानित भएका छन् । सापकोटालाई शनिबार दमौलीमा सम्पन्न गण्डकी वाङमय प्रतिष्ठानको २९ औं साधारणसभा तथा १० औं अधिवेशनमा प्रतिष्ठानले नगद सहित दोसल्ला ओढाई सम्मान गरेको हो ।
झण्डै साढे २ दशक लामो समयदेखि गीत संगित क्षेत्रमा अनवरत लागिरही नेपाली गीत संगीतको क्षेत्रमा योगदान पु¥याएको भन्दै प्रतिष्ठानले गायक सापकोटालाई सम्मान गरेको हो ।
सम्मानित भएका गायक सापकोटा मोफसलमा नै रहि निरन्तर गीत संगितको क्षेत्रमा सक्रिय रहेका छन् भने उनी गीतसंगीतको अलावा मित्रता मावि सत्रसयका शिक्षक समेत हुन ।
उनको अहिलेसम्म केहि आधुनिक धारको राष्ट्रभक्ति गीतका साथै दर्जनौ लोकदोहोरी बजारमा आएका छन् । उनको सर्वाधिक रुचाइएको गीतहरुमा ‘धर्म हुन्न मन पापी छ भने लाखबत्ती बालेनि’, ‘जुन हेर्न भुले तारा हेर्न भुले’, ‘एकै घरका सन्तान हामी’, ‘तर पनि दिन्न देशको एकमुट्ठी माटो’, ‘झझल्कोले सताछ’, ‘बन्दिपुर टुडिखेलैमा’ ‘पानी धाराको’ लगायतका रहेका छन् ।
यस्तै पछिल्लो समय उनको आफ्नै शब्द संगीतका साथै दिपक खनाल र सुनिता बुढा क्षेत्रीको आवाजमा ‘पुतली भुरुरु उड्यो...’ भन्ने गीत बजारमा आएको छ ।
सापकोटा इच्छाकामना त्रिवेणी कलाकेन्द्र मुग्लिनको साँस्कृतिक विभाग प्रमुख हुन् ।