पोखरा । पोखराको मणिपाल अस्पतालमा उपचारका लागि पुगेका तनहुँको आँबुखैरेनीका संगम मिश्र सेती पुलमा कपडा छाडेर बेपत्ता भएकोमा आज दिउँसो मृत भेटिएको छ । उनको शव पोखरा ३ नदिपुर नजिकै सेती नदी बीचमा ढुंगामा अड्किएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
तीन दिनसम्म फेला नपरेपछि कास्की प्रहरीले आज मध्यान्ह १२ बजेदेखि सेती नदी बाँध खोलेर खोजी सुरु गरेको थियो । यस निर्णय प्रभावकारी बनेको कास्की प्रहरी प्रवक्ता एवं डीएसपी श्रवणकुमार बिकले जानकारी दिए ।
तनहुँ आँबुखैरेनी घर भई लामाचौर बस्दै आएका १९ वर्षीय संगम मंसिर २५ गते बेलुकी साढे ६ बजेबाट बेपत्ता भएका थिए । सँगै अस्पताल आएका बुवा हरिप्रसाद मिश्र औषधि लिन गएको बेला इमर्जेन्सी वार्डबाटै उनी सम्पर्कविहीन भएका थिए ।
खोजतलास गर्दा मणिपाल नजिकैको सेती नदीमाथि रहेको झोलुंगे पुल परिसरमा उनले लगाएको कपडा र परिचय पत्र भेटिएकाले नदीमा हाम फालेको आशंकामा बाँध खोलिएको थियो ।
ड्याम खोल्दा नदीमा पानीको बहाव बढ्ने हुँदा शव तैरन सक्ने सम्भावना भएकाले यो उपाय अपनाइएको थियो ।