Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

दश वर्षपछि सञ्चालनमा आउँदै चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने पुल

दश वर्षपछि सञ्चालनमा आउँदै चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने पुल

रासस

३, माघ २०८०
दश वर्षपछि सञ्चालनमा आउँदै चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने पुल
images

चितवन । भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट जोड्ने पुल निर्माण थालेको १० वर्षपछि सञ्चालनमा आउँदैछ । विभिन्न कठिनाइसँगै पुल निर्माणको काम यसै महिना सम्पन्न हुँदैछ ।डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार यही माघ २० गतेदेखि पुल सञ्चालनमा ल्याउने तयारी गरिएको छ । पुल र बाटो जोड्ने स्ल्याप पुस २८ गते ढलान गरिएको छ । पुलको दुवैतर्फको स्ल्याप ढलान गरिएकाले माघको २० गतेबाट सवारी सञ्चालन गर्न सकिने अनुमान गरिएको छ ।

images
images

भरतपुर–१ ठिमुरादेखि तनहुँको देवघाट गाउँपालिका–५ को घिनटार जोड्ने त्रिशूली नदीमाथि बन्दै गरेको मोटरेबल पुल निर्माणको कार्य २०७१ सालको कात्तिक २० गते निर्माण कम्पनीसँग सम्झौता गरी काम अघि बढाइएको थियो । पौडेलका अनुसार निर्माणका क्रममा पटक–पटक प्राविधिक समस्या आउँदा निर्माण कार्य ढिला हुन पुगेको हो । निर्माण सुरु हुनुअघि बनाइएको नक्साङ्कनबीचमा संशोधन गर्नुपर्दा समय लागेको उहाँले बताउनुभयो ।

निर्माण सुरु गरी नक्सा परिवर्तन गराई अनुमति लिनका लागि मात्रै ३० महिना लागेको थियो । पुल निर्माण भएको स्थानमा नदी निकै गहिरो भएको र पानी कटाउन नसक्दा नदीको मुख्य गहिराइमाथि नक्सा परिवर्तनपछि ८० मिटरसम्म स्टिल स्पान राखेर पुल निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एक सय २० मिटर ढलान गरिएको छ भने अन्य स्थानमा स्टिलको स्पान बनाइएको छ ।”

ठेक्का सम्झौता भएको मितिले तीन वर्षमा सम्पन्न गर्ने गरी एलाइट, एड्भेन्जर र इन्द्रेणी जेभी भरतपुरले काम गरेको हो । निर्माणका क्रममा २०७७ साल चैत २४ गते पहिलोपटक निर्माणाधीन पुल भत्किएको थियो । दोस्रोपटक २०७९ साल वैशाखमा भत्किएको थियो । दुईपटकसम्म पुल भत्किएपछि काममा थप ढिलाइ भएको हो ।

पुल निर्माणका लागि सुरुमा रु १९ करोड १० लाख ६६ हजारमा ठेक्का सम्झौता भएको भए पनि संशोधित लागत रु २१ करोड ६८ लाख ४८ हजार रहेको छ । पौडेलले नक्साङ्कन परिवर्तन, भौगोलिक हिसाबले कठिन ठाउँ, बनेर सक्न लाग्दा पुल भत्किनुलगायत कारण काममा ढिलाइ भएको स्वीकार्नुभयो ।

डिभिजन सडक कार्यालयका तत्कालीन डिभिजनल प्रमुख हरिकुमार पोख्रेल हुँदा निर्माण सम्झौता गरिएको यो पुल आठौँ प्रमुख पौडेल रहँदा सम्पन्न हुन लागेको हो । यो पुल सञ्चालनमा आएसँगै देवघाट आवतजावत गर्ने भक्तजन र सर्वसाधारण लाभान्वित हुने भएका छन् ।

images
प्रकाशित मिति :माघ ३, २०८० बुधवार - २१:५३:१० बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology