घैरुङ । सहिद लखन गाँउपालिका वडा नं. ७ स्थित दुई वटा विद्यालयका समिति, शिक्षक र विद्यार्थी प्रतिनिधिहरुलाई गुनासो सुनुवाई सम्बन्धी तालिम दिइएको छ । नेपाल सरकार परराष्ट्र मन्त्रालय (मोफा)को आर्थिक सहयोग र चाइल्ड फण्ड जापानको प्राविधिक सहयोगमा एकीकरण नेपाल गोरखाको आयोजनामा दुई दिने गुनासो सुनुवाई सम्बन्धी तालिम सम्पन्न गरिएको हो ।
सहिद लखन गाउँपालिका अन्तरगत एकीकरण नेपालको ‘सिकाई वातावरणमा सुधार परियोजना, गोरखा’ लागु भएका सहिद स्मृति मावि र चण्डिका आधारभूत विद्यालयहरुमा तालिम दिएकोे कार्यक्रम संयोजक सुजन पौडेलले बताए । उक्त विद्यालयहरुमा गुनासो सुनुवाई समिति गठन गरी तालिम दिएको उनले बताए । तालिममा २ वटा विद्यालयका गरी १५ जनाको सहभागिता रहेको थियो ।
नेपाल सरकारको मादपण्ड अनुसार प्रत्येक विद्यालयमा विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष, शिक्षक अभिभावक संघको अध्यक्ष, प्रधानाध्यापक, वडाको प्रतिनिधि, गुनासो सुन्ने शिक्षक प्रतिनिधि, बालक्लव वा बाल प्रतिनिधि हुने गरी गुनासो सुनुवाई समिति निर्माण गर्नु पर्ने हुन्छ । तालिमलाई चाइल्डफण्ड जापानको कार्यक्रम संयोजक कृष्ण शरण डंगोल, एकीकरण नेपाल गोरखाको कार्यक्रम संयोजक सुजन पौडेल, फिल्ड कार्यक्रम अधिकृत रज्जाक मियाँ लगायतले सहजीकरण गरेका थिए ।
समापन कार्यक्रममा वोल्दै गाउँपालिकाको शिक्षा शाखा अधिकृत राजेन्द्र खनालले गुनासो सुनुवाई समितिले प्रभावकारी ढंगले काम गरेमा विद्यालयको धेरै समस्याको समाधान विद्यालयस्तरमै गर्न सकिने बताए । एकीकरण नेपाल गोरखाका कार्यकारी निर्देशक हरि देवकोटाले समस्या आएपछि समाधान गर्नुभन्दा समस्या आउनै नदिनको लागि आवश्यक पूर्वतयारीहरु गर्नुपर्ने बताए । संस्थाले उक्त तालिम राम्चे आधारभुत विद्यालय र रामेश्वरी माविमा समेत सुरु गरेको छ ।