Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

मुग्लिन–नारायणगढ सडकको भित्तो काट्ने काम अन्तिम चरणमा

मुग्लिन–नारायणगढ सडकको भित्तो काट्ने काम अन्तिम चरणमा

इच्छाकामना न्युज

१४, माघ २०८०
मुग्लिन–नारायणगढ सडकको भित्तो काट्ने काम अन्तिम चरणमा


चितवन – नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन सवारीसाधन रोकेर भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ । विष्फोट गराउनका लागि प्रक्रिया अगाडि बढाइरहेका बेला अन्तिम प्रयासका रुपमा थालिएको भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको हो ।

images

सवारीसाधन दैनिक चार घण्टा रोकेर गत पुस ७ गतेदेखि काम भएको छ । मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म सवारीसाधन रोकेर काम गरिँदै आइएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड(नारायणगढ–मुग्लिन०का सूचना अधिकारी इ कृष्ण आचार्यका अनुसार ६० मिटर अग्लो भित्तोको एकातर्फको भाग ११ मिटर र अर्कोतर्फ १४ मिटर तल झरेको छ । उहाँका अनुसार मुग्लिनतर्फ १४ मिटर बाँकी छ भने खोलातर्फ ११ मिटर बाँकी छ । उहाँले भन्नुभयो, “भित्तो काट्ने काम झन्डै ८० प्रतिशत सम्पन्न भयो ।”

पहिलो पटक तीन साता सवारीसाधन रोकेर भित्तो काटिएको थियो । काम नसकिएपछि दोस्रो पटक थप गरिएको तीन साता यही माघ २० गते सकिँदैछ । दोस्रो पटक म्याद थपेपछि चार दिन काम गर्न नपाएको भन्दै उहाँले थोरै दिनमात्रै थप गर्नुपर्ने हुनसक्ने बताउनुभयो । उहाँको भनाइमा माघभित्रमा भित्तो काट्ने सबै काम सकिन्छ ।

पहाडको भाग अरु तल झरेपछि जाली लगाएर भित्तो काट्दा सवारीसाधन रोक्नु पर्दैन । आक्कलझुक्कल थोरै समय रोकेर काम गर्नुपर्ने अवस्था आए पनि यसरी सवारीसाधन रोक्न नपर्ने उहाँले बताउनुभयो । काम प्रभावकारी हुँदै गएको भन्दै उहाँले विस्फोट गर्नुपर्ने अवस्था टरेको बताउनुभयो । आचार्यका अनुसार ६० मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको थियो । बाँकी ३५ मिटर रक स्पिलटर र हाइड्रोलिन ज्याक हेम्भर प्रयोग गरेर फोर्दै आइएको छ । उहाँका अनुसार टनेल, खानीलगायतमा प्रयोग गरिने विधि प्रयोग गरेर अन्तिम प्रयास गरिएको हो ।

सो सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । विसं २०७६ चैत १० गतेदेखि पुलको निर्माण थालिएको हो । पुलको लागत रु एक अर्ब २८ करोड छ । अनक कन्सट्रक्सनले पुलको काम गरिरहेको छ । हालसम्म आठ पुल सञ्चालनमा आइसकेका छन् ।

जुगेडी–खहरी र सिमलतालका तीन पुल एक महिनाभित्रमा सञ्चालनमा आउने आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार काली र नाम्चे खोलाको पुल थप तीन महिनामा सञ्चालनमा आउने छन् । मुग्लिन नजिकको १ नम्बर पुल असारसम्ममा सञ्चालनमा आउने उहाँले बताउनुभयो । अहिले भित्तो काट्दै गरेको ३ नं पुल जग खनेको छ महिनाभित्रमा सम्पन्न गर्नेगरी काम गर्ने निर्माण व्यवसायीले प्रतिबद्धता जनाएको आचार्यले बताउनुभयो ।

यो राजमार्गलाई एशियाली विकास बैंक (एडिबी) को सहयोगमा एशियन मापदण्डानुसार बनाइएको हो । पुल ११ मिटर चौडा छन् । सडक विस्तार गरेसँगै नौदेखि ११ मिटर फराकिलो बनेको छ । राजधानी बाहिरिने र भित्रिने प्रमुख सडकका रुपमा यो सडक रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन् । 

images
प्रकाशित मिति :माघ १४, २०८० आइतवार - २१:३३:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology