कुरिनटार, २२ माघ । वडाध्यक्षको निधन प्रति शोक व्यक्त गर्दै चितवनको इच्छाकामना गाउँपालिका र गाउँपालिका मातहतका सम्पूर्ण कार्यालयहरु आज एक दिन बन्द हुने भएको छ। गाउँपालिकाको वडा नं. ४ को वडाध्यक्ष होम बहादुर राना मगरको मंगलबार राति निधन भएको प्रति शोक व्यक्त गर्दै गाउँपालिका र गाउँपालिका मातहतका सम्पूर्ण कार्यालयहरु आज एक दिन बन्द हुने भएको हो।
कलेजोमा समस्या देखिएपछि लामो समयदेखि उपचारत रहेका वडाध्यक्ष रानाको उपचारकै क्रममा मंगलबार भारतको हरियाणा स्थित मेदान्त अस्पतालमा निधन भएको थियो। वडाध्यक्ष रानाको निधन भएपछि इच्छाकामना गाउँकार्यपालिकाको बुधबार बसेको आकस्मिक बैठकले शोक व्यक्त गर्दै शोकमा आज एकदिन कार्यालय बन्द गर्ने निर्णय गरेको हो।
मृतक रानाका श्रीमती र एक छोरी हुनुहुन्छ । रानामगर नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
यसैबिच वडाध्यक्ष रानाको मृत शरीरको आजै मुग्लिनस्थित महादेवस्थान नजिकै त्रिशुली किनारमा दाहसंस्कार गर्ने तयारी भैरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ।
यस्तै भारतबाट आज बिहान ११ः३० बजेतिर आईपुग्ने वडाध्यक्ष रानाको शव श्रद्धाञ्जलीको लागि १२ बजे गाउँपालिका कार्यालय प्राङ्गण र १ बजे नेपाली कांग्रेस कार्यालय इच्छाकामनाको प्राङ्गणमा राखिने नेपाली कांग्रेस इच्छाकामनाका सभापति कृतिकुमार श्रेष्ठले जानकारी दिनुभयो।