गोरखा –नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले विस २०८४ सालको निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बन्ने घोषणा गरेका छन् । गत निर्वाचनमा उत्त क्षेत्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका हुन् ।
यसअघि आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका भट्टराईलाई मतदातासँगको वृहत् छलफलमा निर्णय पुनर्विचार गर्न आएको सुझावलाई स्वीकार गरेको बाबुरामका राजनीतिक सहयोगी विश्वदीप पाण्डेले बताए।
पाण्डेले भने, ‘नेसपा अध्यक्ष बाबुराम भट्टराई केही अघि लामो अवधि गोरखा यात्रामा हुनुहुन्थ्यो । त्यस क्रममा आफू यसअघिको चुनावमा विजयी भएको निर्वाचन क्षेत्र गोरखा २ का मतदाताहरुसँग वृहत् छलफल भएको थियो । सो क्रममा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने निर्णयमाथि पुनर्विचार गर्न आएको सुझावलाई उहाँले स्वीकार गर्नुभएको छ । अब उहाँ २०८४ को निर्वाचनमा गोरखा २ मा उम्मेदवार हुनुहुनेछ ।’
गत वर्ष निर्वाचनमा बाबुरामको पार्टी नेसपा माओवादीको चुनाव चिन्हबाट लडेको थियो भने बाबुरामले नै प्रचण्डलाई गोरखा २ मा आफ्नो क्षेत्र छाडेर चुनाव जिताएका थिए ।
तर प्रचण्डको अस्थिर राजनीतिको आलोचना गर्दै आएका भट्टराईले निर्वाचन आयोग र संसद सचिवालयलाई पत्र लेखेर आफ्ना २ सांसदलाई नेसपाकै मान्यता दिन आग्रह गरेका छन् ।
बाबुराम गोरखा २ मा लोकप्रिय मानिन्छन् । उनले तत्कालीन वाम गठबन्धनको बेला पनि नारायणकाजी श्रेष्ठलाई भारी मतले पराजित गरेका थिए ।