Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

आँबुखैरेनीमा पर्ने मर्स्याङ्दी नदीमा र्‍याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन

आँबुखैरेनीमा पर्ने मर्स्याङ्दी नदीमा र्‍याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन

रासस

६, चैत्र २०८०
आँबुखैरेनीमा पर्ने मर्स्याङ्दी नदीमा र्‍याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन
images

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी नदीमा र्याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको छ । गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि आँबुखैरेनी–४ स्थित मर्स्याङ्दीमा र्याफ्टिङको सम्भाव्यता अध्ययन गरेको हो ।

images
images

पर्यटनमार्फत गाउँपालिकाको प्रचारप्रसार र समृद्धिका लागि मर्स्याङ्दीमा र्याफ्टिङ सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । ‘मर्स्याङ्दीमा व्यावसायिक रुपमा र्याफ्टिङ सञ्चालन गर्नका लागि विज्ञ बोलाएर सम्भाव्यता अध्ययन गर्दा सफल भएको छ’, उनले भने, ‘अब यसलाई व्यावसायिक रुपमा सञ्चालन गर्नेतर्फ अगाडि बढ्छौँ ।’

अध्यक्ष चुमानका अनुसार एक्सप्याड नेपालका सिनियर प्रशिक्षक सुमन थापाको नेतृत्वमा र्याफ्टिङको अध्ययन गरिएको हो । प्रशिक्षक थापाले मर्स्याङ्दी नदी र्याफ्टिङका लागि उपयुक्त रहेको अध्ययनका क्रममा पाइएको जानकारी दिए । परीक्षणका क्रममा गाउँपालिकाका अध्यक्ष चुमान, वडाध्यक्षलगायत जनप्रतिनिधिले र्याफ्टिङ गरेका छन् ।

गाउँपालिकाले मर्स्याङ्दी जलविद्युत आयोजनाको जलाशयमा मोटरबोट सञ्चालनको समेत तयारी गरेको छ । वडा नं १ र २ स्थित तल्लो मर्स्याङ्दी जलविद्युत आयोजनाको जलाशयमा मोटरबोट तथा पर्या–पर्यटन कार्य सञ्चालनमा गाउँपालिका जुटेको अध्यक्ष चुमालको भनाइ छ ।

गण्डकी प्रदेशको प्रवेशद्वारमा अवस्थित उक्त ठाउँमा पर्यटक भित्र्याउँदै पर्यटन प्रवर्द्धनका लागि यो काम गर्न लागिएको अध्यक्ष चुमानले बताए । ‘जलाशयमा मोटरबोट सञ्चालन गर्न सकिए यहाँ आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थल बन्न सक्छ । पृथ्वीराजमार्ग हुँदै यात्रा गर्नेलाई यहाँ रोक्न सकिन्छ’, उनले भने ।

मोटरबोट सञ्चालन गरी स्थानीयको जीविकोपार्जनमा सहयोग पु¥याउने लक्ष्य राखिएको अध्यक्ष चुमानले बताए । उनले भने, ‘उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग यसको लागि समन्वय गरेका छौँ । यहाँ मोटरबोट सञ्चालन गर्न सकिए राजमार्ग भएर यात्रा गर्ने यात्रुलाई आँबुखैरेनीमा भुलाउन सक्छौँ ।’

गाउँपालिकाले वडा नं १ को आँधीमूलमा कृत्रिम ताल बनाउने योजना अघि सारेको छ । आँधीमूललाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न यहाँ ताल बनाउने योजना अगाडि सारिएको अध्यक्ष चुमानको भनाइ छ । उनका अनुसार चालु आवमा रू ५० हजार बजेट विनियोजन गरी ताल निर्माणको योजना बनाइएको छ ।

पृथ्वीराजमार्गको सत्रसयबाट २० मिनेटको दूरीमा आँधीमूल पुग्न सकिन्छ । आँधीमूलमा रहेको मन्दिर, २३ वटा धारालगायत स्थानले यहाँ आउने पर्यटकलाई लोभ्याउने गरेको छ । यहाँ ठूली एकादशीका दिन विशेष मेला लाग्ने गरेको गाउँपालिका कार्यालयले जनाएको छ ।

गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि केही काम सुरु गरिसकेको छ । पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी गाउँपालिका–२ ऐनापहराका ढुङ्गामा भगवानका आकृति बनाइएको छ । ऐनापहरा आउने पर्यटकलाई थप आकर्षित गर्न यहाँका प्राकृतिक ढुङ्गामा भगवानका आकृति कुँदिएको छ ।

यहाँ थप पूर्वाधार निर्माणका लागि रू पाँच करोड बजेट आवश्यक देखिएको गाउँपालिकाका अध्यक्ष चुमालले बताए । उनका अनुसार थप बजेटका लागि सङ्घ र प्रदेश सरकारलाई आग्रह गरिएको छ । यहाँ ‘स्काइ साइक्लिकिङ’, सिसाको पुल बनाउने योजना गाउँपालिकाको छ । गत वर्ष सर्वसाधारणको सुविधाका लागि शौचालय निर्माण भइसकेको छ ।

images
प्रकाशित मिति :चैत्र ६, २०८० मंगलवार - ०८:५४:१३ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology