Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

भाटभटेनीले २ हजार विद्यार्थीलाई रोजगारी दिने, तलब हप्तैपिच्छे

भाटभटेनीले २ हजार विद्यार्थीलाई रोजगारी दिने, तलब हप्तैपिच्छे

इच्छाकामना न्युज

१४, आषाढ २०८१
भाटभटेनीले २ हजार विद्यार्थीलाई रोजगारी दिने, तलब हप्तैपिच्छे

काठमाडौं । देशको सबैभन्दा ठूलो सुपर मार्केट चेन भएको भाटभटेनी सुपर स्टोर्सले थप दुई हजार युवाका लागि रोजगारी दिने घोषणा गरेको छ । अहिले भाटभटेनीमा छ हजार बढीले रोजगारी पाइरहेका छन् ।  

images

भाटभटेनी सुपर मार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङका अनुसार देशमा युवाहरूका लागि रोजगारीको अवसर कम भयो भन्ने जनगुनासोलाई ध्यानमा राख्दै भाटभटेनीले रोजगारीको अवसर सिर्जना गर्ने निर्णय गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद (डीपी) अर्यालसँग भेट गरेर आफूले रोजगारी सिर्जनाका लागि सरकारलाई सहयोग गर्ने वचन दिएको र सोही अनुरूप यो घोषणा गरेको गुरुङले जनाएका छन् ।  अध्यक्ष गुरुङ भाटभटेनीका निर्देशक कल्याण गुरुङ र चिफ अपरेसन अफिसर पानु पौडेलसहित मन्त्री अर्याललाई भेट्न पुगेका थिए ।

काठमाडौंसहित देशभर रहेका भाटभटेनी स्टोरमा आफ्नो पढाई चालु राख्दै काम गर्न चाहने मेहनती युवा युवतीका लागि ‘पार्ट टाइम’ रोजगारी उपलब्ध गराउने सोच अनुरूप यो योजना ल्याएको भाटभटेनीले जनाएको छ । 

कम्पनीले १८ वर्ष पूरा भई २१ वर्ष ननाघेकोका युवालाई मात्रै यस्तो जागिर दिइने जनाएको छ । उनीहरूले दिनमा ४–५ घण्टाभन्दा बढी काम गर्नुपर्ने छैन । आगामी साउनदेखि नै यो योजना कार्यान्वयन गर्ने भाटभटेनी सुपर मार्केटको तयारी छ । 

हालसम्म भाटभटेनीमा काम गर्न चाहनेहरूले आठ घण्टा काम गरेर महिना दिनमा सोही अनुसारको तलब बुझ्दै आएकोमा नयाँ योजना अनुसार रोजगारी पाउनेहरूलाई फरक नियम लागु हुने बताइएको छ । 

नयाँ प्रक्रिया अनुरूप जागिर खाने र काम गर्ने रोजगारलाई हरेक हप्ताको अन्त्यमानै उनीहरूले सो हप्ता कमाएको तलब दिइने व्यवस्था गरिने अध्यक्ष गुरुङले जनाएका छन् । 

यसरी जागिर पाउने युवाहरूलाई उनीहरूले कुन दिन कुन समयमा आफ्नो ड्युटी गर्न सक्छन् सकभर सोही अनुसार काम दिइने व्यवस्था मिलाइने छ ।

कसैले बिहान, कसैले दिउँसो वा कसैले राति काम गर्न चाहन्छ भने सोहीअनुसार गर्न पाउने र अझ कसैले कुनै दिन बिहान र कुनै दिन राति वा दिउँसो गर्न चाहन्छ भनेपनि सकभर उसको ड्युटीको समय मिलाइने जनाइएको छ । 

मुलुकमा देखिएको बेरोजगारको अवस्था र युवा पलायनलाई रोक्न यस्तो योजना ल्याइएको गुरुङले बताए । सरकारले सबै नागरिकलाई रोजगारी सिर्जना गर्न नसक्ने भएकाले पनि निजी क्षेत्रका तर्फबाट सरकारलाई साथ दिन यो योजना ल्याइएको उनको भनाइ छ  । 

गुरुङले यसअघि काठमाडौंमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड सहयोगको घोषणा गर्दै काम अघि बढाइसकेका छन् । त्यसबाहेक २०६८ सालमा ११ करोड खर्च गरेर काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सी भवन निर्माण गरिदिएका थिए ।

भूकम्पलगत्तै सोही अस्पतालमा गुरुङले १५ करोड लागतमा ईएचएस भवन निर्माण गरिदिएका छन् । उनैले अहिलेसम्म १४ जनालाई एमबीबीएस अध्ययन गराएका छन् । रोल्पा, खोटाङ, मुगु, डोल्पा, बैतडी, दार्चुला, संखुवासभा, ताप्लेजुङ, पाँचथर र कालीकोटका गरी १४ जनालाई एमबीबीएस तहको अध्ययन गराएका हुन् । उनीहरूको सम्पूर्ण खर्च भाटभटेनीले नै बेहोर्दै आएको छ । 

नेपालभित्र गरिखाने सम्भावना नदेखेपछि बिदेसिने युवाको संख्या तीव्र रूपले बढिरहेको छ  । भाटभटेनीको नयाँ रोजगारीको अवसरले विभिन्न जिल्लाबाट काठमाडौं आएर कलेज पढ्ने विद्यार्थीलाई सहयोग पुग्ने देखिन्छ  । 

images
प्रकाशित मिति :आषाढ १४, २०८१ बिहिवार - ०८:१०:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology