पोखरा । तमु प्ये ल्हु संघले यस वर्षको तमु ‘ल्हु ल्होसार’ पोखरामा भव्य र सभ्य रूपमा मनाउने तयारी थालेको छ । आगामी पुस १५ गते मनाइने ल्होसारलाई व्यवस्थित र सफल बनाउन संघले पोखरास्थित क्षेत्रीय तमु समाज तथा इकाई समितिका प्रतिनिधिसँग बृहत् छलफल गरेको छ ।
कार्तिक २८ गते तमु प्ये ल्हु संघ केन्द्रीय समितिका अध्यक्ष हितकाजी टुक्ल्हेप्री तमुको अध्यक्षतामा बसेको संयुक्त बैठकमा ल्होसारको तयारी, व्यवस्थापन र कार्यक्रम सञ्चालनका विषयमा छलफल भएको हो । छलफलका क्रममा तमु समुदायको मौलिक धर्म, संस्कार, संस्कृति, परम्परा तथा ऐतिहासिक पहिचानको संरक्षण र प्रवर्द्धन गर्दै ल्होसारलाई सामूहिक एकता, सांस्कृतिक गौरव र पुस्तान्तरणको साझा उत्सवका रूपमा मनाउने विषयमा जोड दिइएको थियो ।
ल्होसार कार्यक्रम सफल बनाउन केन्द्रीय समिति, गण्डकी प्रदेश समिति, कास्की जिल्ला समिति,भ्रातृ संगठन, इकाई समिति, क्षेत्रीय तमु समाज तथा सम्पूर्ण तमु समुदायबीच आपसी समन्वय,सहकार्य र सक्रिय सहभागिता आवश्यक रहेको बैठकले निष्कर्ष निकालेको छ ।
बैठकमा अध्यक्ष हितकाजी टुक्ल्हेप्री तमुले तमु समुदायको मौलिक पहिचान, धार्मिक आस्था र सांस्कृतिक विरासतलाई जीवन्त राख्दै नयाँ पुस्तामा यसको महत्त्व हस्तान्तरण गर्न ल्होसार महत्त्वपूर्ण अवसर भएको बताए । उनले संघसँग आबद्ध प्रदेश, जिल्ला तथा इकाई समितिहरूलाई पनि ल्होसार भव्य रूपमा मनाउन निर्देशन दिइएको जानकारी दिए ।
तमु एकता तथा मौलिक संस्कार र संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि सामूहिक सहभागिता नै ल्होसार उत्सवको मुख्य आधार भएकोमा सहभागीहरूले जोड दिएका थिए । बैठकमा यस वर्ष पोखरामा विविध सांस्कृतिक कार्यक्रमसहित ल्होसार भव्य र सभ्य रूपमा मनाउने विषयमा सकारात्मक ऐक्यबद्धता जनाइएको थियो ।
बैठकको सञ्चालन संघका केन्द्रीय महासचिव अर्जुन प्ल्हें तमुले गरेका थिए । उपाध्यक्ष हर्क योज तमुले कार्यक्रम व्यवस्थापन, जिम्मेवारी तथा कार्यविभाजनसम्बन्धी पूर्व संस्थागत निर्णयबारे सहभागी समाज तथा इकाईका प्रतिनिधिलाई जानकारी गराएका थिए ।