Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

कालीगण्डकी करिडोर : पहिरो रोकथाम गर्न अँधेरीखोलामा नयाँ प्रविधिको प्रयोग

कालीगण्डकी करिडोर : पहिरो रोकथाम गर्न अँधेरीखोलामा नयाँ प्रविधिको प्रयोग

इच्छाकामना न्युज

२५, भाद्र २०८१
कालीगण्डकी करिडोर : पहिरो रोकथाम गर्न अँधेरीखोलामा नयाँ प्रविधिको प्रयोग

म्याग्दी । चीन–भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकमा जोखिम बनाएको म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोलामा नयाँ प्रविधिको प्रयोग गरेर पहिरो रोकथाम गरिएको छ ।

images

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बैसरीको सडकमा पहिरो खस्न नदिनका लागि ‘रक एङ्करिङ’ र ‘नेलिङ’ गरिएको हो । बेनी–जोमसोम–कोरला सडक योजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले सडक माथिको पहाडमा ड्रिलिङ गरेर रड राखी, कङ्क्रिट गरेर बेस बनाई पर्खाल निर्माणका साथै जमिन बग्न नदिन जाली राख्ने र वृक्षारोपण गरिएको जानकारी दिए । 

“पहिरो रोकथामका लागि हामीले नयाँ प्रविधिको प्रयोग गरिएको छ”, उनले भने, “गत साउनको पहिलो हप्तादेखि थालिएको रक एङ्करिङ र नेलिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ ।” अँधेरीखोलाको पाखो बगेर सडकमा ढुङ्गा, गेगर खस्दा सवारीसाधन पुरिने, यात्रीको ज्यान जाने, घाइते हुने र सडक अवरुद्ध हुने समस्या थियो । गत वर्ष एकजनाको ज्यान गएको र एउटा सवारीसाधन पहिरोले पुरिएको थियो । 

गत असारमा गुडिरहेको इकोभ्यानमाथि पहिरो खसेर पुरिएको थियो । खोल्साको पानीले पहिरो बगाएर भेटिएको पहाडमाथि पर्खाल बनाएर खस्ने पहिरो रोक्ने संरचना बनाइएको सबइन्जिनियर कार्कीले बताए । 

पहाडको डिलमा ८५ देखि एक दशमलव दुई मिटर गहिरो प्वाल बनाएर रड राखी दुई ठाउँमा ७७ दशमलव पाँच मिटर लामो एकदेखि एक दशमलव पाँच मिटर अग्लो कङ्क्रिट ढलान गरेको पर्खाल निर्माण गरिएको छ । पर्खालभन्दा माथिको पाखोमा बग्ने किसिमका ठुला ढुङ्गा पन्छाएर माटो, जाली बिछ्याएर खिर्रो, सजिवन, बाबियो र खरका बिरुवा रोपिएको निर्माण कम्पनी युवराज कन्ट्रक्सनकी सञ्चालक गौमती बुढामगरले बताए । 

“भिरमा ड्रिल गरेर प्याल पारी रड राख्ने र ढलान गरिएको हो”, उनले भने “पिठ्युमा निर्माण सामग्री ओसारेर पहिरोको जोखिमयुक्त भिरमा दैनिक ३० जना मजदुरले करिब दुई महिना लगाएर एङ्करिङ र नेलिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ ।” भूमिगत पानीका कारण सिर्जना भएको पहिरो रोकथामका लागि आयोजनाले गत वर्ष खोल्साको पानीले बगाएपछि केही समय रोकिएको पहिरो यसपालिको बर्खाको सुरु भएसँगै पुनः खस्न थालेको थियो । 

पहिरोको जोखिम रहेको अन्नपूर्ण गाउँपालिकाको लाटोखोला, बादरजुङ र काभ्रेभिर क्षेत्रमा पनि रक एङ्करिङ र नेलिङ प्रविधिको प्रयोग गरेर सडक विस्तार गरिएको आयोजनाका इन्जिनियर विष्णु चापागाईँले बताए । विसं २०६३ मा नेपाली सेनाले मार्ग खोलेको बेनी–जोमसोम सडकको म्याग्दी खण्ड स्तरोन्नतिको क्रममा छ ।

images
प्रकाशित मिति :भाद्र २५, २०८१ मंगलवार - ०८:१३:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology