Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

बाढीपहिरोले कृषिमा त्रिचालिस करोडको क्षति

बाढीपहिरोले कृषिमा त्रिचालिस करोडको क्षति

इच्छाकामना न्युज

२२, आश्विन २०८१
बाढीपहिरोले कृषिमा त्रिचालिस करोडको क्षति

बनेपा । गत साताको बाढीपहिरोबाट काभ्रेपलाञ्चोक जिल्लामा करिब ४३ करोड रुपियाँ बराबरको खाद्यान्न तथा तरकारी बालीमा क्षति पुगेको छ । कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले सङ्कलन गरेको प्रारम्भिक तथ्याङ्क अनुसार बाढीपहिरोबाट जिल्लामा ४२ करोड ७१ लाख रुपियाँ बराबरको बाली क्षति पुगेको हो । 

images

कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले कार्यालय सङ्कलन गरेको क्षतिको प्रारम्भिक विवरण अनुसार बाढीपहिरोबाट जिल्लाका १३ वटा स्थानीय तहमा ६७० हेक्टरमा धान बाली, ३० हेक्टरमा मकै बाली र ४२८ हेक्टरमा तरकारी बालीमा क्षति पुगेको बताउनुभयो । उहाँले क्षेत्रफलका दृष्टिले धान खेतमा बढी क्षेत्रफलमा क्षति भए पनि आर्थिक रूपमा भने तरकारी खेतीमा सबैभन्दा बढी क्षति पुगेको बताउनुभयो ।

उहाँले बाढीपहिरोबाट धान, मकै, तरकारी तथा अन्यबाली गरी कुल एक हजार १२९ हेक्टर जमिनको बालीमा क्षति पुगेको भन्दै धान बालीतर्फ अनुमानित दुई हजार मेट्रिक टन, मकै बाली ८४ मेट्रिक टन र तरकारी तथा अन्य बाली गरी चार हजार तीन सय मेट्रिक टन क्षति भएको बताउनुभयो । 

उहाँले बाढीपहिरोका कारण छ करोड दुई लाख ८८ हजार रुपियाँ बराबरको धान, २३ लाख ५२ हजार रुपियाँ बराबरको मकै र ३६ करोड ४४ लाख ७१ हजार रुपियाँ बराबरको तरकारी तथा अन्य बाली क्षति भएको बताउनुभयो । 

उहाँले बाढीपहिरोबाट जिल्लाको पनौती नगरपालिकामा सबैभन्दा बढी नौ करोड ४१ लाख, पाँचखाल नगरपालिकामा आठ करोड ३५ लाख, नमोबुद्ध नगरपालिकामा छ करोड एक लाख, धुलिखेल नगरपालिकामा पाँच करोड ४७ लाख, बनेपा नगरपालिकामा दुई करोड ५५ लाख र मण्डनदेउपुर नगरपालिकामा तीन करोड ४७ लाख रुपियाँ बराबरको बाली क्षति भएको बताउनुभयो । 

यसै गरी खानीखोला गाउँपालिकामा ४५ लाख, चौँरीदेउराली गाउँपालिकामा ७५ लाख, तेमाल गाउँपालिकामा १४ लाख, बेथानचोक गाउँपालिकामा ९१ लाख, भुम्लु गाउँपालिकामा ३७ लाख ५३ हजार, महाभारत गाउँपालिकामा ५२ लाख र रोसी गाउँपालिकामा चार करोड २७ लाख ८४ हजार रुपियाँ बराबरको बाली क्षति भएको कार्यालयले जनाएको छ ।

जिल्लाका १३ वटा स्थानीय तहमध्ये हालसम्म नौ वटा पालिकाको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको छ । पशु विकास कार्यालय काभ्रेपलाञ्चोकले प्रारिम्भक तथ्याङ्क अनुसार बाढीपहिरोका कारण हालसम्म करिब चार हजार एक सयभन्दा बढी पशु मरेको जनाएको छ । कार्यालयका निमित्त प्रमुख निशान्त गेलालले बाढीपहिरोबाट बढी क्षति भएको पनौतीमा दुई हजार एक सयभन्दा बढी पशुपन्छी मरेको तथ्याङ्क प्राप्त भएको बताउनुभयो । उहाँले जिल्लाको रोसी, चौँरीदेउराली, महाभारत र खानीखोला गाउँपालिकामा सम्पर्क हुन नसकेकाले तथ्याङ्क नआएको बताउनुभयो ।

हालसम्म प्राप्त तथ्याङ्क अनुसार बाढीपहिरोबाट गाई ५२ वटा, भैँसी ४० वटा, बाख्रा १६४ वटा, बङ्गुर ११३ वटा, कुखुरा ११२९ वटा, हाँस ४०४ वटा र खरायो पाँच वटा क्षति भएको छ ।  गोर्खापत्रबाट

images
प्रकाशित मिति :आश्विन २२, २०८१ मंगलवार - ०७:२५:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology