लमजुङ, कार्तिक १६ — लमजुङको मर्स्याङ्दी गाउँपालिकाले यही कात्तिक २७ देखि मंसिर १ गतेसम्म विभिन्न कार्यक्रमका साथ मर्स्याङ्दी महोत्सव आयोजना गर्ने भएको छ ।
गाउँपालिकाले यसअघि २०७५ मंसिरमा पहिलो मर्स्याङ्दी महोत्सवको आयोजना गरेको थियो । यसपटक ५ दिन विभिन्न स्थानमा विभिन्न कार्यक्रमको आयोजना गरी दोस्रो मर्स्याङ्दी महोत्सव २०८१ आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बिहीबार मर्स्याङ्दी गाउँपालिका-३, खुदीमा आयोजित पत्रकार भेटघाटमा बताए । उनका अनुसार स्थानीय कला, संस्कृतिको संरक्षण र ग्रामीण पर्यटनको प्रवर्द्धन गर्न गाउँपालिकाले महोत्सवको आयोजना गर्न लागिएको हो ।
महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्रीवितरणसमेत गरिने भएकाले स्थानीयले महोत्सवबाट लाभ लिन सक्ने उनले बताए । ‘हामीले ५ दिन विभिन्न स्थानमा महोत्सव गर्नेछौं, यो एउटा नौलो अभ्यास पनि हो,’ उनले भने, ‘हरेक ठाउँका हरेक विशेषताः छन्, हामी त्यसलाई चिनाएर पर्यटन प्रवर्द्धन गरी ग्रामीण नागरिकको जनजीवन उकास्ने हाम्रो प्रयास हो ।’
गाउँपालिकाले कात्तिक २७ र २८ गते मर्स्याङ्दी गाउँपालिका ३ र ९ को संगमस्थल खुदी बेनीमा धार्मिक मेला (हरिबोधनी एकादशी मेला) आयोजना गर्ने भएको छ । यो २ दिन फूलको डोरी तार्ने, साँस्कृतिक कार्यक्रम, वडास्तरीय भलिबल प्रतियोगिता, ठेलो हान्ने प्रतियोगिता, दन्त शिविर, मर्स्याङ्दी-३, ढगैंबेंसीस्थित राष्ट्रिय विभूति भक्ति थापा जन्मस्थल पार्क र मर्स्याङ्दी ७, ताङ्लीचोकस्थित डा. हर्क गुरुङ समाधिस्थल पार्क अवलोकनलगायत कार्यक्रम छ । यस कार्यक्रमलाई खुदी युथ सोसाइटी र खुदी टोल विकास संस्थाले सहआयोजकको रुपमा व्यवस्थापन गर्नेछ ।
कात्तिक २९ गते मर्स्याङ्दी ४ जगतमा जगत तातोपानी महोत्सव आयोजना गरिने भएको छ । उक्त दिन जगत तातोपानी कुण्डमा स्नान, स्थानीय कला संस्कृति प्रदर्शनी, स्थानीय उत्पादनहरुको प्रदर्शनी तथा विक्री वितरणलगायत कार्यक्रम छ । कार्यक्रमलाई जगत टोल विकास संस्था तथा तातोपानी युवा क्लब जगतले सहआयोजकको रुपमा व्यस्थापन गर्नेछ ।