Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा बन्ने औद्योगिक क्षेत्रको काम अगाडि बढ्न सकेन

कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा बन्ने औद्योगिक क्षेत्रको काम अगाडि बढ्न सकेन

images

इच्छाकामना न्युज

१, मंसिर २०८१
कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा बन्ने औद्योगिक क्षेत्रको काम अगाडि बढ्न सकेन
images

गण्डकी, मंसिर १ । निर्माण घोषणाको सात वर्ष बितिसक्दा पनि कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा बन्ने औद्योगिक क्षेत्रको काम अगाडि बढ्न सकेको छैन । गत वर्ष सुरु गरिएको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)को काम पनि अझै पूरा हुन नसकेको गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको उद्योग–वाणिज्य महाशाखा प्रमुख महराज ढकालले जग्गा प्राप्तिसँगै ‘इआइए’को प्रक्रिया लम्बिएका कारण औद्योगिक क्षेत्र निमार्णमा ढिलाइ भइरहेको बताए । परामर्शदाता कम्पनी गौमुखी इन्जिनियरिङले गत वर्ष दुवै औद्योगिक क्षेत्रको ‘इआइए’ गर्ने जिम्मा लिएको थियो । एक महिनाभित्र क्षेत्र निर्धारण र कार्यसूची तय गर्ने, दुई महिनाभित्रमा प्रारम्भिक प्रतिवेदन र पाँच महिनाभित्रमा अन्तिम अध्ययन प्रतिवेदन बुझाउने गरी सम्झौता भए पनि प्रतिवदेनले अझै पूर्णता पाएको छैन । 

पुँडीटार औद्योगिक क्षेत्रको ‘इआइए’ स्वीकृतिको अन्तिम चरणमा रहेको महाशाखा प्रमुख ढकालले बताए । लोकाहाखोलाको जग्गा चुरे संरक्षण क्षेत्रभित्र पर्ने भएकाले ‘इआइए’को प्रक्रिया पूरा गर्न थप समय लाग्ने देखिएको उनको भनाइ छ । ‘इआइए’ नगरेसम्म औद्योगिक क्षेत्रका लागि सङ्घ सरकारबाट जग्गा उपलब्ध नहुने भएपछि प्रदेश सरकारले सो काम अगाडि बढाएको थियो । 

 जग्गा प्राप्तिका लागि प्रदेश सरकारले पठाएको प्रस्ताव सङ्घ सरकारको वन तथा वातावरण मन्त्रालयमा पुगेर रोकिएको महाशाखाले जनाएको छ । ‘इआइए’को अध्ययन प्रतिवेदन आइसकेपछि जग्गा व्यवस्थापन र औद्योगिक क्षेत्रका लागि आवश्यक पूर्वाधार निर्माणको काम सुरु हुने जनाइएको छ । सङ्घ सरकारले वन तथा वातावरण मन्त्रालयको सहमतिपछि सङ्घीय मन्त्रिपरिषद्ले प्रस्तावित औद्योगिक क्षेत्रका जग्गा उपलब्ध गराउने निर्णय गर्नेछ । प्रदेश सरकारको उक्त प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट वन तथा वातावरण मन्त्रालयमा पुगिसकेको प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयले जनाएको छ ।

 प्रदेश गौरवका आयोजनाका रूपमा घोषित औद्योगिक क्षेत्र निर्माणमा ढिलाइ भएपछि जनस्तरमा पनि गुनासो बढेको छ । प्रदेश सरकारले पुँडीटारमा रु ५४ करोड र लोकाहाखोलामा रु ७६ करोडको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० समेत तयार पारिसकेको छ । औद्योगिक क्षेत्रलाई चाहिने जग्गा नापजाँच तथा यकिन भइसकेकाले अब जग्गा उपलब्ध गराउने सम्बन्धमा सङ्घ सरकारको निर्णयको पर्खाइमा प्रदेश सरकार छ । प्रदेश सरकारको मन्त्रिपरिषद्ले आवश्यक निर्णय गरी जग्गा प्राप्तिको प्रस्ताव दुई वर्षअघि नै सङ्घमा पठाएको थियो । 

जग्गा प्राप्ति भएपछि पुँडीटारमा ४५ सय रोपनी र लोकाहाखोलामा एक सय ४१ बिघामा औद्यागिक क्षेत्र निर्माण हुने जनाइएको छ । पुँडीटार औद्योगिक क्षेत्रले कास्कीको पोखरा–३३ र तनहुँको शुक्लागण्डकी–९ को केही भू–भागलाई समेट्छ । लोकाहाखोला औद्यागिक क्षेत्र नवलपुरको कावासोती–१ र देवचुली–१० मा स्थापना हुन लागेको हो ।

 पुँडीटारमा केही अव्यवस्थित बसोबास रहे पनि बस्तीबाहेकको जग्गालाई मात्र समेटेर ‘डिपिआर’ बनाइएको मन्त्रालयले जनाएको छ । प्रस्तावित दुवै औद्योगिक क्षेत्रको जग्गा सामुदायिक वन क्षेत्रभित्र पर्छ । जग्गाको नापजाँच र स्रेस्तासमेत कायम भइसकेको जनाइएको छ । पुँडीटारमा अव्यवस्थित बसोबासमा रहेका ५०/६० परिवारलाई स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले दुई औद्योगिक क्षेत्रसँगै २५ उद्योग ग्राम निर्माणको योजनालाई समेत अगाडि बढाएको जनाएको छ ।रासस

images
प्रकाशित मिति :मंसिर १, २०८१ शनिवार - ०७:४१:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology