Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

पृथ्वी राजमार्ग अन्तरगत आँबुखैरेनी–जामुने सडकखण्ड विस्तारको लागि ठेक्का सम्झौता

पृथ्वी राजमार्ग अन्तरगत आँबुखैरेनी–जामुने सडकखण्ड विस्तारको लागि ठेक्का सम्झौता

पत्रपत्रिका

२, फाल्गुण २०७७
पृथ्वी राजमार्ग अन्तरगत आँबुखैरेनी–जामुने सडकखण्ड विस्तारको लागि ठेक्का सम्झौता

आँबुखैरेनी, २ फागुन । पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिन–पोखरा सडक खण्डमध्ये पहिलो चरणमा दुई लेनको ४१।४५ किलोमिटरलाई चार लेनमा विस्तार गरिने भएको छ। सडक विभाग मातहतको आयोेजना निर्देशनालय एडिबीले आँबुखैरेनी–जामुने खण्डको ठेक्का सम्झौता गरेको हो। यो खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्सट्रक्सन कम्पनीले पाएको छ।  
चिनियाँ कम्पनीले ४१।४५ किलोमिटर विस्तार गर्ने ठेक्का ६ अर्ब २१ करोड रूपैयाँमा पाएको हो। आयोजना निर्देशक सुशीलबाबु ढकालले आँबुखैरेनी–जामुने खण्ड विस्तार गर्न ठेक्का सम्झौता भइसकेको बताए। ‘ठेक्का सम्झौता भएको ४२ महिनाभित्रै दुई लेनलाई चार लेनमा विस्तार गर्ने योजना छ,’ उनले भने, ‘ठेकेदार कम्पनी र आयोजनाबीच सम्झौता भइसकेको छ। ठेकेदार कम्पनीले आगामी अप्रिलदेखि काम थाल्ने योजना बनाएको छ।’
सरकारले दुई लेनको पृथ्वी राजमार्ग बजार क्षेत्रमा ६ लेन र अन्य क्षेत्रमा चार लेनमा विस्तार गर्न लागेको हो। यो खण्ड एसियाली विकास बैंकबाट १।५ प्रतिशत ब्याजदरमा सहुलियत ऋण लिएर विस्तार गर्न लागिएको हो।
मुग्लिन–पोखरा सडक ९३ किलोमिटर छ। पहिलो चरणमा ४१।३ किलोमिटर मात्रै विस्तार गर्न लागिएको हो। अन्य खण्डको पनि ठेक्काको तयारी गरिरहेको आयोजना निर्देशनालय एडिबीले जनाएको छ। आयोजना निर्देशक ढकालले सडक विस्तार गरेसँगै बिजुलीको पोल सार्ने लगायत काम हुने बताए। ‘डाँडा कटान सुरु गरेपछि बिजुलीको पोल सार्ने काम सुरु गर्नेछौं,’ उनले भने, ‘ठेकेदार कम्पनीले पनि तोकिएको समयभित्रै निर्माण सक्ने प्रतिबद्धता जनाएको छ।’  
मुग्लिन–पोखरा सडक आयोजनाको पूर्वी खण्डका प्रमुख नरेन्द्र सुवेदीले आँबुखैरेनी–जामुने खण्डमा पर्ने रुख कटानको लागि रुख गणना सुरु भइसकेको बताए। ‘अहिले सडक विस्तार गर्ने साइटमा पर्ने रुखको गणना भइरहेको छ,’ उनले भने, ‘केही समयभित्रै वन कार्यालयसँग समन्वय गरेर रुख कटान सुरु गर्नेछौं।’  
यो खण्ड निर्माण सकिएको पाँच वर्षसम्म ठेकेदार कम्पनीले मर्मतसम्भार गर्ने जिम्मेवारी तोकिएको छ। मुग्लिन–आँबुखैरेनी खण्डको सात किलोमिटरको अहिले विस्तृत परियोजना प्रतिवेदन डिपिआर निर्माण भइरहेको छ। आँबुखैरेनी–मुग्लिन खण्डमा मस्र्याङ्दी जलविद्युत् आयोजना भएकाले पनि सो क्षेत्रमा अर्कोतर्फ पनि सडक विस्तार गर्ने योजना बनाइएको छ।
जामुने–पोखरा खण्डको पनि केही महिनाभित्रै ठेक्का आह्वान गरिने आयोजनाले जनाएको छ। आयोजनाले पोखरा–मुग्लिन खण्डको भौगोलिक बनावट र जनघनत्वलाई समेत मध्यनजर गरी सडक चौडा गर्न लागेको हो। घना बस्ती भएको स्थानमा ६ लेन र अन्य स्थानमा चार लेनको सडक बनाइनेछ। यो सडकको दुवैतर्फ साइड ड्रेनेजको काम गरिनेछ। पैदल यात्रुको लागि एक–एक मिटरको फुटपाथ हुनेछ।

images

दरौदी दैनिकबाट

images
प्रकाशित मिति :फाल्गुण २, २०७७ आइतवार - ०९:२३:४० बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology