आँबुखेरैनी बजारमा गाउँपालिकाले सञ्चालन गरिएको हाट बजार प्रभावकारी बनिरहेको छ । स्थानीय उत्पादनलाई प्रवद्र्धन र कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले दुईवर्ष अघिदेखि सञ्चालन गरेको हाटबजार प्रभावकारी बन्दै गएको गाउँपालिकाको कृषि शाखा प्रमुख सन्तोष केसीले बताए ।
हरेक शुक्रबार अपरान्हतिर हाटबजार लाग्ने गर्दछ । ‘हाट बजार सञ्चालनमा आएपछि उपभोक्ता र कृषक दुवैथरीलाई धेरै राम्रो भएको छ,’ केसी भन्छन्, ‘यसअघि विचौलियाले किसानका कृषि उत्पादन किनेर अधिकत्तम नाफा गरी बेच्थे । अहिले किसान स्वयंले मनासिब दरभाउमा बेच्छन् । किसानलाई पनि राम्रो, उपभोक्तलाई पनि राम्रो भएको छ ।’ वर्षभरि नै व्यवसायिक तरकारी खेती गर्नेहरुलाई हप्ताको एकदिन लाग्ने हाट बजारले रिफरेशमेन्ट हुने गरेको उनले बताए । उनका अनुसार अहिले हाट बजारमा उपभोक्तालाई स्थानीय उत्पादनको माग पु¥याउन नै हम्मे हम्मे पर्ने गरेको छ ।
कहिलेकहीँ हाटबजारमा कृषि उत्पादन बाँकी रह्यो भने गाउँपालिकाले किनेर बाहिर सुपथ मुल्यमा बिक्री गरिदिने गरेको उनले जानकारी दिए । उनले भने, ‘त्यति गर्दा नि बाँकी भएको गाउँपालिकाको कर्मचारी जनप्रतिनिधिले नै खरिद गरिदिन्छ ।’
हाट बजारमा ग्रामीण भेगबाट आउनेहरुले गाउँ टोलको प्रतिनिधि गरेर सबैको उत्पादन भएको उपजहरु लिएर आउने गरेको कृषि शाखा प्रमुख केसीले बताए । साथै पालिकाभित्र नै बसोबास गर्दै आएका बाहिरी जिल्लाका व्यापारीहरु पनि हाट बजारमा गएर बिक्री वितरण गर्न पाउनले उनले जानकारी दिए ।
हाटबजार सञ्चालन गर्ने स्थल गाउँपालिकाले जोहो गरिदिएको हो । वार्षिक २ लाख ४७ हजार ५ सय रुपैयाँ भाडा बुझाउने गरी जग्गा व्यवस्था गरेको कृषि शाखा प्रमुख केशीले बताए । प्रभावकारी हुँदै गएपछि दुईबर्षदेखि निरन्तर हाटबजार चलेको उनको भनाइ छ । ‘हामीले २०७९ सालदेखि हाट बजार सञ्चालन गर्न थालेका हौं’, उनले भने, ‘स्थानीय उत्पादन किन्ने र बेच्ने दुवैथरी असाध्यै उत्साहित छन् ।’
सुरु सुरुमा हाट बजारमा स्थानीय उत्पादन उपलब्ध हुनेबारे उपभोक्ताबर्गसम्म जानकारी पु¥याउन गाह्रो भएपनि अहिले अभ्यस्त भइसकेको उनको भनाइ छ । हाट बजार सञ्चालनमा आएपछि ग्रामीण भेगको कृषि उपजमा हुने विचौलियाको बिगबिगी कम भएको उनको भनाइ छ । खेतबारीमा फल्ने आफ्नो कृषि उत्पादन सबै बेचेर घर गृहस्थी चलाउन पाउँदा निकै खुसी लागिरहेको सुकमाया चेपाङ बताउँछिन् । उनी भन्छिन्, ‘आफुले बोकेर ल्याएको सामान सबै बेच्न पाइन्छ । बिकेन भने पनि खेरा जाँदैन । धेरै सजिलो भएको छ ।’
हाट बजारमा स्थानीय कृषि उपज बिक्री गर्न आउनेहरुले पालिकालाई जग्गाको भाडा बुझाउनु नपर्ने पालिकाले जनाएको छ । खाजाको परिकार बिक्री गर्ने भएमा ७० रुपैयाँ बुझाउनु पर्ने हुन्छ । स्थानीय बाहेकले दिनको ५० रुपैयाँ र मासु तथा खाजाको परिकार बिक्री गर्नेहरुले एकसय रुपैयाँका दरले पालिकालाई बुझाउनु पर्ने उनले बताए ।