आँबुखैरेनी, ३ फागुन । तनहुँको आँबुखैरेनी गाउँपालिकामा आज देखि कोरोना खोप लगाउन सुरु गरिएको छ। सरकारको तेस्रो चरणको कोरोना खोप लगाउने कार्यक्रम अन्तर्गत आँबुखैरेनीमा आजदेखि लगाउन सुरु गरिएको हो।

खोप लगाउन सुरु गरिएको पहिलो दिन आज १ सय ३७ जनाले कोरोना खोप लगाएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिनुभयो। उहाँका अनुसार ९७ जना पुरुष र ४० जना महिलाले पहिलो दिन खोप लगाएका छन्।

विशेष गरेर आज आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी लगायतले खोप लगाएका छन्। गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेल वडाध्यक्षहरु, कर्मचारीहरु लगायतले खोप लगाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले बताउनुभयो। यसपटक स्थानीय तहका जनप्रतिनिधी, कर्मचारी, निजामती कर्मचारीहरु, प्रहरी, बैंक वित्तिय संस्थाका कर्मचारीहरु, पत्रकारहरु लगायतलाई खोप लगाईने उहाँले बताउनुभयो।

