काठमाण्डौ, २३ असोज
अन्तराष्ट्रिय तमु (गुरुङ) परिषद् (आईटिसी) को आयोजनामा आजदेखि अन्तराष्ट्रिय तमु संवाद श्रृङ्खला सुरु भएको छ। गत वर्ष विश्वभरका तमु (गुरुङ) हरु काठमाण्डौमा जम्मा भै भव्य रुपमा सम्पन्न गरेको अन्तराष्ट्रिय तमु संवाद कार्यक्रम यसवर्ष भने कोभिड १९ को विश्वव्यापी प्रभावका कारण भर्चुअल प्रविधि (जुम)बाट आयोजना गरि सुरु गरिएको हो।
आज ९ अक्टोवर देखि सुरु भै १२ अक्टोवरसम्म ४ दिन चल्ने सो संवाद श्रृङ्खलामा हरेक दिन विभिन्न शीर्षकमा साँझ ५ बजेदेखि ८ बजेसम्म बहस, छलफल र अन्तरक्रिया हुनेछ। संवाद श्रृङ्खलाको पहिलो दिन आज मेरो गाउँघर (ङइ नाँस ट्हो) र तमु(गुरुङ) भाषा र साहित्य शीर्षकमा संवाद भएको छ।
कार्यक्रमको पहिलो दिन पहिलो सत्रमा मेरो गाउँघर (ङइ नाँस ट्हो) शीर्षकमा विभिन्न देशबाट सहभागी १५ जना प्रतिनिधीहरुले आफ्नो प्रस्तुती राखेको थियो। जसमा अखिल भारतीय गुरुङ बौद्ध संगठनका अध्यक्ष आनन्द गुरुङ, तमू समाज युएईका अध्यक्ष उषा गुरुङ, युनाईटेड गुरुङ सोसाईटि अमेरिकाका प्रदिप गुरुङ, गुरुङ सेवा समिति नयाँ दिल्ली भारतका उपाध्यक्ष गोपीराज गुरुङ, तमु समाज साईप्रसका धना गुरुङ, तमु समाज क्यानडाका विरकाजी गुरुङ, तमु समाज ओमनका अध्यक्ष निशेक गुरुङ, तमू समाज बेल्जियमका अध्यक्ष नन्दकुमारी गुरुङ, तमू समाज म्यानमारका अध्यक्ष मिनबहादुर गुरुङ, अखिल सिक्किम गुरुङ बौद्ध संगठन भारतका अध्यक्ष लक्षमण गुरुङ, तमु समाज युएसएका तोरण गुरुङ, तमू धीं साउदी अरबका सुरज गुरुङ, तमू समाज युकेका अध्यक्ष शिवचन्द्र गुरुङ, ईष्ट वेष्ट तमू गुरुङ सोसाईटी सेट्ल अमेरिकाका अध्यक्ष सीता गुरुङ, तमू समाज कुवेतका महासचिव सुरेश गुरुङ र तमू समाज मकाङ चीनका वरिष्ठ उपाध्यक्ष लिलबहादुर गुरुङ (गोरे)ले आफ्ना प्रस्तुती राख्दै आ-आफ्नो संस्थाले देश विदेशमा गर्दै आएको सामाजिक काम र संस्थाको संक्षिप्त परिचय प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा आ-आफ्नो प्रस्तुती राख्दै अधिंकाशं सहभागीहरुले संसारको जुनसुकै कुनामा रहेर पनि आफ्नो भाषा, भेषभुषा, धर्म, संस्कार, संस्कृति संरक्षण सम्वद्र्धन प्रवद्र्धनका लागि कटिबद्ध भएर काम गरिरहेको बताएका थिए। प्रस्तुती कै क्रममा २ लाख तमु समुदाय रहेको भारतमा जनजातिको मान्यता दिन पहल भैरहेको र गुरुङ डेभलपमेण्ट बोर्ड गठन गर्न आसाम राज्य सकरात्मक रहेको अखिल भारतीय गुरुङ बौद्ध संगठनका अध्यक्ष आनन्द गुरुङले बताउनुभयो भने युनाईटेड गुरुङ सोसाईटि अमेरिकाका प्रदिप गुरुङले हरेक हप्ता शनिबार र आईतबार रोधीं सञ्चालन गर्ने, हरेक वर्ष फरक फरक राज्यमा गै एकिकृत रुपमा ल्होसार मनाउने भाषा भेषभुषा संस्कृति संस्कार जोगाउन विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्ने गरेको बताउनुभयो।
यस्तै संख्यात्मक हिसाबले ४ सय जति तमुहरु रहेको साईप्रसको तमु समाजले विश्वव्यापि महामारीको रुपमा फैलिरहेको कोभिड १९ का कारण प्रभावित भएका विद्यार्थीहरुलाई सहयोग गर्ने काम गरिरहेको र तमुका चाडपर्वहरु मनाउने, विभिन्न अन्तरक्रिया छलफलहरु गर्ने गरिएको तमु समाज साईप्रसका धना गुरुङले बताउनुभयो। त्यसैगरी तमु धीं क्यानडाका विरकाजी गुरुङले ८ सय हाराहारीमा तमु रहेको क्यानडामा तमु भाषा भेषभुषा संस्कृति संस्कार जोगाउन साँस्कृतिक टिम गठन गरेर अगाडी बढ्ने तयारी रहेको बताउनुभयो।
उता म्यानमारमा भने १ सय ५० घर धुरी गुरुङ समुदाय रहेको र सन् २०१८ देखि तमु ल्होसार मनाउन थालिएको तमु समाज म्यानमारका अध्यक्ष मिन बहादुर गुरुङले बताउनुभयो। उहाँले भन्नुभयो -‘हामीले नेपालको सिको गर्दै बल्ल आफ्नो धर्म संस्कार संस्कृति रितिरिवाज परम्पराहरुलाई अंगाल्दै छौं।’
यस्तै कार्यक्रममा आफ्नो प्रस्तुती राख्दै तमू धीं साउदी अरबका सुरज गुरुङले साउदी सरकारको कानुन अनुसार समाजका गतिविधिहरु सञ्चालन गरिरहेको र आफ्नो पहिचान जोगाउन संस्थाले गर्ने जुनसुकै कार्यक्रममा पनि तमु पोसाक अनिवार्य लगाउनुपर्ने अन्यथा कार्यक्रममा सहभागी हुन निषेध गर्ने गरिएको बताउनुभयो।
पछिल्लो समय विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ को कारण प्रभावित बनेका तमु र गैर तमु समुदायका व्यक्तिहरुलाई आवश्यक सहयोग गर्ने काम गरिरहको तमु समाज कुवेतले तमु पहिचानको संरक्षणका लागि अन्तरक्रिया लगायतका विभिन्न कामहरु गरिरहेको समाजका अध्यक्ष सुरेश गुरुङले बताउनुभयो।
कार्यक्रममा जुम मार्फत विश्वभरका करिब २ सय ५० जना तमूहरुले सहभागिता जनाएका थिए ।
कार्यक्रममा तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद, नेपालका सह-महासचिव डम्बरबहादुर गुरुङले सहजीकरण गर्नुभएको थियो, भने प्रा.डा.ओम गुरुङले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो। यस्तै तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका वरिष्ठ उपाध्यक्ष कणर्बहादुर गुरुङले स्वागत मन्तव्य राख्नु भएकोे कार्यक्रममा तमू समाज बहराइनका अध्यक्ष नरेन्द्र घलेले धन्यवाद ज्ञापन गर्नुभएको थियो।
कार्यक्रममा धन्यवाद मन्तव्य राख्दै अध्यक्ष घलेले तमूहरु जहाँ भएपनि एक भएर अघि बढनुपर्ने भन्दै यसप्रकारको कार्यक्रमले तमूहरुको एकता अझै भरिलो र खाँदिलो बन्ने बताउनुभयो।
यस्तै कार्यक्रम समापन गर्दै कार्यक्रमको अध्यक्षता गर्नुभएका प्रा.डा.ओम गुरुङले यो एउटा नयाँ खालको कार्यक्रम भएको र जसले जहाँ छ आफूले त्यही नै त्यहाँको आफनो गाउँ मान्नुपर्ने परिकल्पनाका साथ आयोजना भएको कार्यक्रम असाध्यै राम्रो भएको बताउनुभयो।