Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

एक दशकमा पनि बनेन घुमाउनेघाटको पुल

एक दशकमा पनि बनेन घुमाउनेघाटको पुल

इच्छाकामना न्युज

१४, पौष २०८१
एक दशकमा पनि बनेन घुमाउनेघाटको पुल

अमरराज नहर्की / तनहुँ, पुस १४ गते । तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिकालाई जोड्ने घुमाउनेघाटको पुल एक दशकदेखि बन्न सकेको छैन ।

images

आँबुखैरेनी–५ र भरतपुर–२९ घुमाउने जोड्ने त्रिशूली नदीमाथि बन्ने पक्की पुल निर्माणको काममा ढिलाइ भए पनि सम्बन्धित निकायले ध्यान दिन नसक्दा लामो समयदेखि अलपत्र परेको हो ।

पुल निर्माण पूरा नहुँदा गण्डकी प्रदेशको राजधानी पोखरालाई तराईसँग पृथ्वी राजमार्गको विकल्पका रूपमा जोड्ने छोटो दुरीको मार्ग सञ्चालनमा ल्याउन पाइएको छैन । २०७१ साल असारमा पुल निर्माणका लागि सम्झौता भएको थियो तर पुल अहिलेसम्म प्रारम्भिक चरणमा छ ।

अहिलेसम्म दुईतिरको भागमा पिल्लर मात्रै ठडिएको छ । सडक डिभिजन कार्यालयले सम्झौता अनुसार पनि काम नभए निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने पटक पटक बताउँदै आएपछि खुरु खुरु म्याद थप गर्दै आएको छ ।

डिजाइन एन्ड विल्डका आधारमा ठेकेदार कम्पनीले नै तयार गरेको डिजाइन अनुसार पुल १०५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने छ । आधुनिक ‘आर्क’ डिजाइनमा बन्ने पुलको लागत आठ करोड २६ लाख रुपियाँ छ । दोहोरो लेनको पुलमा ७.५ मिटर गाडी हिँड्ने भाग रहने डिजाइनमा उल्लेख छ ।

हेडौँडास्थित मृत सञ्जीवनी निर्माण कम्पनीसँग भएको सम्झौता अनुसार हालसम्म ३० प्रतिशत मात्रै काम भएको सडक डिभिजन कार्यालयले जनाएको छ । सम्झौता भएको लामो समयसम्म पनि पुलले गति लिन नसक्दा यात्रुलाई सास्ती हुनुका साथै इन्धनमा हुने खर्च कटौती हुन सकेको छैन ।

सडक डिभिजन कार्यालय दमौलीकी प्रमुख सिनियर डिभिजन इन्जिनियर राजीव श्रेष्ठले पुलको डिजाइन परिवर्तन गर्न लागिएको पुल निर्माणको काम रोकिएको बताउनुभयो । श्रेष्ठले भन्नुभयो, “यस वर्षको वर्षायाममा नदीमा आएको बाढीले पिल्लर डुबाएकाले डिजाइन परिवर्तन गर्नुपर्ने देखिएकाले काम रोकिएको हो ।” पुल महाशाखालाई पत्राचार गरेर पुलको छिटो डिजाइन गरेर पठाउन भनिएको श्रेष्ठले बताउनुभयो ।

अहिलेको डिजाइनबाट बाढीले क्षति हुने देखिएको राज्यको लगानी खेर नजाओस् भनेर परिवर्तन गर्न लागेको श्रेष्ठ बताउनुहुन्छ । आँबुखैरेनी गाउँपालिका–५ का वडाध्यक्ष सन्तोष गुरुङले निर्माण कम्पनीको ढिलासुस्तीले गर्दा पुलको कामले गति लिन नसकेको सम्बन्धित निकायको पनि पटक पटक ध्यानाकर्षण गराइए पनि एक दशकसम्म पनि पुल अधुरो रहेको बताउनुभयो ।

गुरुङले भन्नुभयो, “अनेक बहाना बनाएर पुल निर्माणमा ढिलाइ गरिएको छ अति नै भएकाले दबाब दिन आन्दोलन गर्नुपर्ने देखिएको छ ।” उक्त पुलको निर्माणपछि चितवन आउन पोखरा, बागलुङ, पर्वत, बेनी, स्याङ्जा र दमौलीका बासिन्दाले डुम्रे, आबुँखैरेनी र मुग्लिङ सडक प्रयोग गर्नु पर्दैन । पुल ११ मिटर चौडाइको हुने छ ।

तनहुँको दमौलीबाट घुमाउनेघाटसम्म नियमित रूपमा साना बस चलेका छन् तर पुल नहुँदा ती सवारी नारायणगढ–मुग्लिङ सडकखण्डसम्म आइपुग्न सक्दैनन् ।

सेती नदीको किनारैकिनार घुमाउनेघाट, प्युघर, सराङघाट, मासीघाट, सुँढे, बेलबास हुँदै दमौली पुग्न सकिन्छ । घुमाउनेघाटमा भएको झोलुङ्गे पुलबाट मानिस मुग्लिङ–नारायणगढ सडकसम्म आउने जाने गर्छन् ।

images
प्रकाशित मिति :पौष १४, २०८१ आइतवार - १०:५९:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology