आँबुखैरेनी, १७ पौंष । आँबुखैरेनी गाउँपालिकाद्धारा संचालित आँबुखैरेनी अस्पतालमा शल्यक्रिया सहितको प्रसुती सेवा सुरु भएको छ ।
अस्पतालले हिजो साँझ स्थानीय एक महिलाको पहिलो पटक शल्यक्रिया मार्फत प्रसुती सेवा सुरु गरेको अस्पतालले जनाएको छ ।
असपतालका प्रमुख डा. डिबी क्षेत्री, मेडिकल अधिकृत डा. अविनास कुमार रौनियार, एनेस्थेसिया सहायक भानु अर्याल, नर्सहरु सिमा सापकोटा क्षेत्री, सविता बिष्ट, पूजा रावल, मिना श्रेष्ठ लगाएतको टोलीले शल्यक्रिया मार्फत प्रसुती गराईएको र शल्यक्रिया मार्फत जन्मिएका नवजात शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको डा. डिबी क्षेत्रीले जानकारी दिए ।
२० वर्ष उमेरकी गर्भवती महिला, ३९ हप्ताको गर्भ, ४२ घण्टा देखि पानी बगीरहेको, बच्चा खेल्ने पानीको मात्रा कम भएको र मुटुको चाल नियमित नभएको, पेटमै बच्चाले दिशा गरेको, सुत्केरी वेथा नभएको अवस्थामा आकस्मिक शल्यक्रिया गरिएको डा. क्षेत्रीले बताए ।