चितवन, ५ फागुन । तनहुँको आँबुखैरेनी गाउँपालिकामा रहेको मगर गाउँ रानागाउँमा सुटिङ गरिएको मगर संस्कृतिमा आधारित चलचित्र ‘मिर्ही (भाग्य)’ को ट्रेलर सार्वजनिक भएको छ। चलचित्र निर्माण पक्षले आज बुधबार चितवनको भरतपुरमा पत्रकार सम्मेलन गरि चलचित्र ‘मिर्ही (भाग्य)’ को ट्रेलर सार्वजनिक गरेको हो। चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै मगर समुदायको पहिचान दिलाउन चितवनबाट निर्माण भएको यो नै पहिलो मगर चलचित्र बनेको छ। आदिवासी जनजाति समुदायमा चितवनबाट मगर संस्कृतिमा आधारित चलचित्र निर्माण गरेर समुदायस्तरमा आफ्नो उपस्थिति देखाइएको निर्माण पक्षले जनाएको छ।
करिब दुई दशकदेखि सञ्चारमर्ममा सक्रिय रमेश रानामगरको लेखन तथा निर्देशनमा चलचित्र ‘मिह्री’ निर्माण भएको हो । गतवर्ष चैतमा नै प्रदर्शन गर्ने तयारीमा लागे पनि कोभिड १९ का कारण परिस्थिति असहज भएपछि चलचित्रको प्रदर्शन रोकिएको थियो। अब भने समुदायस्तरमा जान सक्ने वतावरण निर्माण भएकोले निर्माण भएको एकवर्षपछि प्रदर्शन गर्ने तयारीमा जुटेको निर्माण समूहका एक सदस्य ईश्वर रानामगरले जानकारी दिए।
बुधबार भरतपुरमा नेपाल मगर संघ चितवनका अध्यक्ष खिमबहादुर थापा मगरको उपस्थितिमा भएको पत्रकार सम्मेमार्फत छिट्टै प्रदर्शन गर्ने तयारी भइरहेको जानकारी गराएको हो। चितवन जिल्लाबाट पहिलो पटक मगर संस्कृतिमा आधारित चलचित्र निर्माण गरेर समग्र चितवनवासी मगर समुदायको गरिमा बढाएको भन्दै अध्यक्ष मगरले संघको तर्फबाट सहयोग रहने प्रतिवद्धता जनाए।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का केन्द्रीय सदस्य राजु चौधरीले सञ्चारकर्ममा काम गरेको अनुभवलाई चलचित्र क्षेत्रमा प्रयोग गरेर चितवनबाटै नयाँ कामको थालनी गरेको भन्दै यसलाई निरन्तरता दिन आग्रह गरे।
सोही मौका पारेर चलचित्रको ट्रेलर र चलचित्रमा समावेश ‘भमरा डुल्यो’ सालैजो गीतसमेत सार्वजनिक गरिएको थियो। चलचित्रमा समावेश प्रेममा आधारित ‘के मेरो माया लाग्छ र’ बोलको गीत भने यसअघि नै मझेरी टिभी युट्युब च्यानलमार्फत सार्वजनिक भइसकेको चलचित्रका लेखक तथा निर्देशक रमेश रानामगरले जानकारी दिए।
चलचित्रको अधिकांश दृश्य तनहुँको आँबुखैरेनी स्थित सत्रसय रानागाउँमा छायांकन गरिएको उनले बताए। त्यो बाहेक पवित्र धार्मिकस्थल देवघाटधाम, पोखरा, चितवनको रत्ननगर लगायतका स्थानमा पनि छायांकन गरिएको छ। करिब दुई दशक लामो समयदेखि चितवनको सञ्चार क्षेत्रमा कार्यरत घना गुरूङको छायांकन तथा सम्पादन रहेको चलचित्रमा रमेश रानामगर, ईश्वर रानामगर, सनम आलेमगर, प्रीज्मा आलेमगर, आशिक रानामगर, मिलन थापामगर, स्रस्टी थापामगर, देवी थापामगर, भीमबहादुर थापामगर, बलबिक्रम थापामगर लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ।
चितवन जिल्लाबाटै कलाकार उत्पादन गर्ने लक्ष्यसहित चलचित्र निर्माण गरिएको हुँदा अधिकांश कलाकार चितवन जिल्लाकै छन्। प्रायः सबैजना नयाँ अनुहार चलचित्रमा देखिँदैछन्। चलचित्रमा पहिलो प्रयास भए पनि समग्रमा दर्शकको रोजाईमा पर्ने विश्वास लिइएको चलचित्रका लेखक तथा निर्देशक रमेश रानामगरले बताए।