Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

देवघाटमा सुन्तला बेचेर तीन करोड आम्दानी

देवघाटमा सुन्तला बेचेर तीन करोड आम्दानी

images
देवघाटमा सुन्तला बेचेर तीन करोड आम्दानी
images

तनहुँ, माघ ५ गते । तनहुँको देवघाट गाउँपालिका–३ ले यस वर्ष सुन्तला बिक्रीबाट तीन करोड रुपियाँ आम्दानी गरेको छ ।

व्यावसायिक रुपमा सुन्तला खेती गर्ने किसानले ठेक्का तथा आफैँले बिक्री आम्दानी गरेका हुन् । बाटक, लुङग्रिङ, छिपछिपे, छापस्वाँरा, दगराका बासिन्दाले सुन्तला बिक्री गरेर तीन करोडभन्दा बढी आम्दानी गरेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।

गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन बढे पनि बजार मूल्य नबढेकाले आम्दानी बढ्न नसकेको किसानहरु बताउँछन् । अगुवा सुन्तला कृषक तथा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भीमबहादुर रानाले महँगी बढे पनि गत वर्षकै भाउमा सुन्तला बेचेको जानकारी दिनुभयो ।

यस वर्ष ३० लाख रुपियाँको सुन्तला बिक्री गरेको उहाँले बताउनुभयो । अध्यक्ष राना वडा नम्बर ३ का किसानले मात्रै तीन करोडभन्दा बढी आम्दानी गर्ने गरेको जानकारी दिनुभयो । लुङग्रिङमा एकै घरबाट २० लाखभन्दा बढीको सुन्तला बिक्री गरेको उहाँले जानकारी दिनुभयो ।

कृषक प्रेम थापाले सुन्तला उत्पादक किसानलाई बजारसम्म लैजान समस्या पर्दै आएको बताउनुभयो । नदीपारि रहेको लुङग्रिङ, बाटक, छिपछिपे, छापस्वाँरा तथा दगरा गाउँलाई राजमार्गसम्म जोड्न त्रिशूली र सेती नदीमा पुल नहुँदा सुन्तला बजारसम्म लैजान सास्ती भएको थापाले बताउनुभयो ।

उहाँका अनुसार लुङग्रिङ र छिपछिपेका कृषकले बुद्धसिंह मार्गको नाल्दीघाट र मुग्लिङ–नारायणगढ सडकको गाईघाटसम्म जिपमा ल्याएर त्यहाँबाट बोकाएर झोलुङ्गे पुल तारेर राजमार्गसम्म ल्याउँछन् भने छापस्वारा र दगराका कृषकले बुद्धसिंह मार्गमा झारेर त्यहाँबाट दमौली हुँदै काठमाडौं लैजाने गरेका छन् ।

थापाले भन्नुभयो, ‘‘पुल नहुँदा ढुवानी खर्च महँगो परेको छ ।’’ नाल्दीमा पुलको योजना परेको थियो । तर तनहुँ जलविद्युत् आयोजनाको तल्लो सेती जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पुल पर्ने भएकाले गर्दा उक्त पुलको योजना पनि स्थगित भएर समस्या परेको छ ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसानहरुले नयाँ बोट थप्ने गरेको बताउनुभयो । किसानलाई प्रोत्साहन गर्न गाउँपालिकाले निःशुल्क बिरुवा दिने गरेकोले अबका केही वर्षमा उत्पादनसँगै आम्दानीमा पनि वृद्धि हुने अध्यक्ष थापाको भनाइ छ ।

देवघाट गाउँपालिका तिनतिरबाट नदीले घेरिएको तर पक्की पुल नहुँदा समस्या परेको अध्यक्ष थापाले बताउनुभयो । नाल्दीघाट, घुमाउने र गाईघाटमा पुल नहुँदा समस्या परेको उहाँले जानकारी दिनुभयो । नाल्दीबाट लुङग्रिङसम्म जाने ग्रामीण सडकलाई गाउँपालिकाले सुन्तला मार्ग नामकरण गरी बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाको स्रोतले बाटो बनाए पनि पुल नहुँदा राजमार्गसम्म ल्याउन समस्या परेको अध्यक्ष थापाको भनाइ छ । किसानलाई प्रोत्साहन गर्न काफलडाँडामा सुन्तला नर्सरी स्थापना गरिएको अध्यक्ष थापाले बताउनुभयो । त्यहाँ उत्पादित बिरुवा किसानहरुलाई निःशुल्क वितरण गरिएको उहाँले जानकारी दिनुभयो । अध्यक्ष थापाका अनुसार वडा नम्बर १, २, ३ र ४ का विभिन्न भागमा सुन्तला उत्पादन हुन्छ ।

विगतमा बारीबाटै डोकोमा बोकेर चितवनको नारायणगढसम्म लैजानुपर्थ्याे । तर हाल गाउँपालिकाले गाउँमा सडक पुर्‍याएको अध्यक्ष थापा बताउनुहुन्छ । नदीमा पुल नहुँदा राजमार्गसम्म सिधै पहुँच नपुगेको उहाँले जानकारी दिनुभयो । गत आर्थिक वर्ष २०८०/०८१ मा तनहुँका किसानले ४० करोड रुपियाँ हात पारेका थिए । ११ हजार पाँच सय १८ मेट्रिकटन सुन्तला उत्पादन हुँदा उक्त रकम हात पारेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख गोपाल शर्मा लामिछानेले बताउनुभयो ।

 

images
प्रकाशित मिति :माघ ५, २०८१ शनिवार - १७:१३:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology