Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

लमजुङमा मह बिक्रीबाट १८ करोड आम्दानी

लमजुङमा मह बिक्रीबाट १८ करोड आम्दानी

images
लमजुङमा मह बिक्रीबाट १८ करोड आम्दानी
images

लमजुङ,  माघ ८ गते ।  पहाडी जिल्ला लमजुङमा मह उत्पादन बढेको छ । गत वर्षको तुलनामा यस वर्ष २९ दशमलव छ टनले मह वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कार्यालयका सूचना अधिकारी सरोज थापाका अनुसार यस वर्ष १७ हजार एक सय ९७ वटा मौरीका घारबाट एक सय २९ दशमलव १७ टन मह उत्पादन भएको छ ।

जिल्लामा किसानले यस वर्ष रु. एक हजार पाँच सयका दरले बिक्री गरेको बताएका छन् । जिल्लामा किसानले यस वर्ष मह बिक्रीबाट रु. १८ करोड आम्दानी गरेको उहाँको भनाइ छ । यस्तै, गत वर्ष १३ हजार आठ सय ५० मौरीका घारबाट एक सय ११ दशमलव तीन टन मह उत्पादन भएको थियो । गत वर्ष प्रतिकिलो मह रु. नौ सयदेखि एक हजारसम्ममा बिक्री भएको थियो भने मह बिक्रीबाट रु. नौ करोडभन्दा बढी आम्दानी गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

विसं २०७९ मा १० हजार २५ मौरीका घारबाट ३२ टनमात्र मह उत्पादन भएको थियो । विसं २०७८ मा ११ हजार पाँच सय मौरीका घारबाट ३० टन मह उत्पादन भएको थियो । यस्तै २०७७ सालमा ११ हजार सयवटा मौरीका घारबाट ३८ टन मह उत्पादन भएको थियो । केन्द्रका अनुसार २०७६ सालमा नौ हजार पाँच सय मौरी घारबाट ३४ टन तथा २०७५ सालमा पाँच हजार नौ सय मौरीका घारबाट ३२ टन मह उत्पादन भएको थियो ।

जिल्लामा यस वर्ष सबैभन्दा बढी सुन्दरबजार नगरपालिकामा मह उत्पादन भएको छ । यहाँ चार हजार पाँच सय घारबाट ३६ हजार केजी उत्पादन गरेको र यसबाट रु. पाँच करोड ४० लाख आम्दानी भएको सूचना अधिकारी थापाले बताउनुभयो । जिल्लामा उत्पादित मह काठमाडौँ, पोखरा, चितवनलगायत बजारमा खपत हुँदै आएको छ । 

जिल्लाका किसानले आधुनिक मौरी घार र प्रविधिको प्रयोगबाट मह उत्पादन गर्न थालेका छन् । नेपाल मौरीपालक महासङ्घ जिल्ला शाखाका अनुसार लमजुङको सबैभन्दा बढी उत्पादन हुने सुन्दरबजार नगरपालिका, बेँसीसहर नगरपालिका र मर्स्याङ्दी  गाउँपालिका छन् । शाखामा जिल्लाका तीन सय ८२ जनाभन्दा बढी मौरीपालक किसान आबद्ध  छन् । 

पछिल्लो समयमा जिल्लामा मह उत्पादन बढ्दै गएको कृषि ज्ञान केन्द्रका प्रमुख सुदीप खतिवडाले बताउनुभयो, उत्पादन बढ्नुका कारण पहिला सौखले मौरीपालन गरिन्थ्यो भने अहिले बुझेर मौरीपालन गर्न थालेका छन् । पहिला मौरीपालनसम्बन्धी नबुझी गरेको र अहिले विभिन्न निकायले यससम्बन्धी तालिम प्रदान गरेकाले, मौरी चरन क्षेत्र राम्रो तथा पर्याप्त, हावापानी राम्रो, आधुनिक घारको प्रयोगलगायत कारणले मह उत्पादन बढ्दै गएको उहाँको भनाइ छ । 

जिल्लामा शेरना प्रजाति मौरीको मह उत्पादन गर्ने गरेको र यसले प्रतिघार पाँचदेखि १० केजीसम्म मह उत्पादन गर्ने कृषि ज्ञान केन्द्र प्रमुख खतिवडाले बताउनुभयो । कार्यालयले यस वर्ष एक सय २५ वटा मौरीका घार किसानलाई अनुदानमा वितरण गरेको थियो । कार्यालयबाट मौरीपालनलगायत कृषि क्षेत्रका किसानका लागि विभिन्न शीर्षकमा बर्सेनि रु. साढे तीन करोड खर्च गर्दै आएको केन्द्रले जनाएको छ । रासस

images
प्रकाशित मिति :माघ ८, २०८१ मंगलवार - १८:५४:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology