आँबुखैरेनी, ७ फागुन । तनहुँको आँबुखैरेनी गाउँपालिका–२, मार्किचोकमा आँबुखैरेनी रंगशाला कप सेभेन साईड नकआउट फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । ‘सक्छौं त प्रेम गर सक्दैनौं घृणा पनि नगर’ भन्ने मूल नाराका साथ मार्कीचोक युवा क्लबको आयोजनामा आँबु–२, मार्किचोक स्थित कुडुलेमा सो प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको एक समारोहकाबीच आँबुखैरेनी गाउँपालिका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले उद्घाटन गर्नुभएको छ। उद्घाटन समारोहलाई सम्बोधन गर्दैै उहाँले यस रंगशालालाई राष्ट्रिय स्तरको रंगशालाको रुपमा विकास गर्ने योजनाका साथ अगाडी बढ्दै गएको र भविष्यमा यस क्षेत्रबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलाडी उत्पादन गराउन रंगशालाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। मानिसका आधारभूत आवश्यक तत्व गास, बास, कपास जस्तै, स्वास्थ्यको लागि खेलकुद अति आवश्यक रहेको बताउनु हुँदै उपाध्यक्ष श्रेष्ठले खेल अवधिभर सम्पूर्ण खेलाडीहरुलाई अनुशासन पूर्वक फुटबल खेल्न आग्रह गर्नुभयो।

क्लबका अध्यक्ष आदम गुरुङ्गको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, वडा नं. २ वडाध्यक्ष कटक बहादुर थापा, लेखा अधिकृत टेकनाथ पराजुली, ईन्जिनियर पंकज चितौरे मगर, समाजसेवी बेल बहादुर गुरुङ्ग लगायतको उपस्थिती रहेको थियो। कार्यक्रममा लेखा अधिकृत टेकनाथ पराजुलीले प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद ५ हजार रुपैंया दिने घोषणा गर्नुभएको छ। फागुन १० गते सम्म चल्ने प्रतियोगिताको बिजेताले नगद ५० हजार र उपबिजेताले नगद २५ हजार प्राप्त गर्नेछ ।