Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

कौरा नाचको संरक्षणमा ऋषिङ गाउँपालिका

कौरा नाचको संरक्षणमा ऋषिङ गाउँपालिका

इच्छाकामना न्युज

११, माघ २०८१
कौरा नाचको संरक्षणमा ऋषिङ गाउँपालिका

तनहुँ, माघ ११ गते । तनहुँको ऋषिङ गाउँपालिकाले मगर समुदायमाझ लोकप्रिय रहेको कौरा नाच संरक्षण गर्ने अभियान थालेकाे छ । पालिकाले गाउँपालिकाले प्रत्येक वर्ष कौरा नृत्य प्रतियोगिता गर्ने, डकुमेन्ट्री बनाउने र होमस्टेका सञ्चालकलाई प्रशिक्षण प्रदान गरेर संरक्षण गरिरहेको छ ।

images

कौरा नृत्य ऋषिङ गाउँपालिकाबाटै सुरु भएकोले यसको संरक्षण संवर्द्धनकाा लागि प्रत्येक वर्ष कौरा नृत्य प्रतियोगिता गर्दै आइरहेको नयाँ पुस्तालाई जानकारी र संरक्षणमा टेवा पुर्‍याउन डकुमेन्ट्री निर्माण गरिसकिएको ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताउनुभयो ।  नाचको जगेर्नाका लागि गाउँपालिकाको प्रमुख प्रशासकीय कार्यालय रहेको पोखरीभञ्ज्याङमा यही माघ २० गते खुल्ला कौरा प्रतियोगिता गर्ने निर्णय गरिएको छ । 

अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘ऋषिङबाट उत्पत्ति भएको कौरा संस्कृति परम्परालाई संरक्षण गर्ने उद्देश्यले गाउँपालिकाले खुला प्रतियोगिता गर्ने निर्णय गरेको हो । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमश ७० हजार, ४५ हजार, २५ हजार र १० हजार रुपियाँ  र प्रमाणपत्र दिइने उहाँले जानकारी दिनुभयो ।  

पालिकको कार्यक्रम हुँदा आफूहरुले कौरा नाच देखाएर अतिथिलगायत सहभागीलाई मनोरञ्जन दिने गरिएको अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । श्रेष्ठले भन्नुभयो “गाउँपालिकाबाट गरिने हरेक सार्वजनिक कार्यक्रमको सुरुआत नै कौरा नाचबाटै गरिन्छ ।’’ विगतमा मगर समुदायमाझ मात्र लोकप्रिय रहेको यो नाच अहिले मुलुकका विभिन्न क्षेत्रको बाहेक विदेशमा लोकप्रिय बनेको अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ।

कौरा नाच ऋषिङ गाउँपालिकाबाट उत्पत्ति भएको ऋषिङबाट बसाई सर्दै देशका विभिन्न स्थान तथा विदेशमा जानेले समेत यो नाचलाई विस्तार गरेको कौरा नाचको अध्ययन तथा अनुसन्धान गर्नुभएका व्यास नगरपालिका–१३ बेलबास निवासी यमबहादुर आले बताउनुहुन्छ । 

पछिल्लो समय गाउँपालिकाले स्थानीयवासीको क्षमता विकास र विभिन्न समुदायको पहिचानलाई उजागर गर्न विभिन्न कार्यक्रम गर्दै आएको गाउँपालिकाका प्रवक्ता विजय दरैले बताउनुभयो । कौरा नाचको सुरु नै मगर समुदायको बाहुल्य रहेको ऋषिङ गाउँबाट भएकाले संरक्षणका लागि गाउँपालिका अग्रसर रहेका उहाँको भनाइ छ ।  

कौरा नाचबारे किंवदन्ती

ऋषिङ गाउँपालिकाको अधिकांश स्थानमा ठूला पहाड छन् । विगतमा पानी लिन जाँदा साना कुवामा पालो पर्खिएर घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था थियो । यसरी मगर गाउँका मानिस कुवामा पानी जम्मा हुने पालो कुरेर बस्नुभन्दा नाचगान गरौँ भन्ने सोचले ‘पानी कुरुवा नाच’ भन्दै ‘कुरुवा नाच’ र कालान्तरमा ‘कौरा नाच’ हुन पुगेको अध्ययन कर्ता आले बताउनुहुन्छ ।

पहिले चाडपर्वका बेला जिम्वाल वा मुखियाको घरमा मगर भेला भई नाचगान गर्ने र भोज खाएर आउने चलन थियो । मगरले जिम्वाल र मुखियाकोमा पुगेपछि ‘कानराह’ अर्थात् ‘हामी आयौँ है’ भन्थे । कानराह पछि अपभ्रंश हुँदै कौरा भएको भनाइ पनि छ । त्यसैगरी अर्को भनाइअनुसार कुरकुरे बैंसका मगर युवा युवती भेला भई नाच्ने र गाउने भएकाले ‘कौडे उमेरका युवायुवती नाच्ने’ भन्दै गर्दा कालान्तरमा ‘कौरा’ हुन पुगेको किंवदन्ती छ ।

images
प्रकाशित मिति :माघ ११, २०८१ शुक्रवार - १९:४४:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology