फिस्लिङ । मुग्लिन–मलेखु सडकखण्डमा कार र ट्रक एकापसमा ठोक्किदा दुर्घटना भएको छ । उक्त सडक खण्डमा पर्ने चितवनको इच्छाकामना गाउँपालिका ३ पानीधारा भन्ने ठाउँमा काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख १७५४ नम्बरको ट्रकमा विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०१–०२७ च ४००० नम्बरको कार ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा कारमा सवार रुपन्देहीको देवदह नगरपालिका ४ की ५० वर्षीया मायादेवी उपाध्याय घाइते भएको प्रहरी चौकी मुग्लिनकी प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् । उपाध्यायको टाउकोमा चोट लागेको छ । तर, अवस्था सामान्य रहेको प्रहरी निरीक्षक भण्डारीले बताइन् । उनलाई स्थानीय मेडिकलमा प्राथमिक उपचारपछि थप उपचारका लागि भरतपुर ल्याइएको छ ।प्रहरी निरीक्षक भण्डारीका अनुसार कारले ओभरटेक गर्ने क्रममा ठोक्किएको हो । दुर्घटनापछि सडक एकतर्फी मात्रै सञ्चालन भएको छ ।